जापानकी मोडल तथा नायिका रजेल इचिमियाले नेपाली फिल्म ‘जहाजैमा’मा काम गर्ने पक्का भएको छ । निर्माणपक्षले आज रजेलको नाम सार्वजनिक गर्दै उनी फिल्ममा अनुवन्धित भएको जानकारी दिएको छ ।
कृषा चौलागाइको निर्देशनमा तयार हुन लागेको फिल्म ‘जहाजैमा’को छायांकन नेपाल, जापान र फिलिपिन्समा हुँदैछ । भदौबाट फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् । फिल्मको हाल धमाधम प्रि–प्रोडक्सनको काम चल्दैछ ।
निर्माणपक्षले आज सार्वजनिक गरेको रजेलसहितको पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालिनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोष्टर हेर्दा यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।
निर्देशक चौलागाइले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपुर्ण भएपनि रोचक हुने बताइन् । यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा उज्ज्वल गुरागाँइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा भन्ने उज्ज्वलको भनाई छ ।
फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायक कुन देशका हुनेछन् भन्ने खुलाइएको छैन । निर्देशक चौलागाइले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरु रहेको बताइन् ।
रजेल जापनमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली फिल्ममा भित्राउनु आफैमा नयाँपन हो । यसले नेपाली फिल्मको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ ।
यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया