आफ्नो निर्णयबाट ‘ब्याक’ भए बालेन, चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी दिए


काठमाडौं । अन्ततः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह आफूले गरेका निर्णयबाट ब्याक हुन बाध्य भएका छन् । आफ्नो अथक प्रयास असफल भएपछि उनले चार वडाध्यक्षलाई पुरानै जिम्मेवारी दिएका छन् । बालेनले वडाध्यक्षहरू आशाराम संगत, मचाराजा महर्जन, ख्यामराज तिवारी र नवीन मानन्धरलाई क्रमशः सम्पदा तथा पर्यटन समिति, विधायन समिति, सुशासन समिति र सूचना तथा प्रविधि समितिको जिम्मेवारीमा फर्काएका हुन् ।

उनले यसअघि चारै जनालाई समितिको जिम्मेवारीबाट हटाएका थिए । आफूहरूलाई हटाएको भन्दै वडाध्यक्षहरू विरोधमा उत्रिएका थिए । उनीहरूले कार्यपालिकाको निर्णयविना आफूखुसी निर्णय नगर्न बालेनलाई चेतावनीसमेत दिएका थिए । नयाँ जिम्मेवारी पाएका वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापति, वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की र वडा नम्बर ८ का अध्यक्ष विनोदकुमार राजभण्डारीले संयुक्त हस्ताक्षर गर्दै कार्यपालिकाले जिम्मेवार अनुमोदन नगरेको भन्दै बालेनलाई पत्र पठाएर पद अस्वीकार गरेका थिए । त्यसपछि बालेन दबाबमा परेका थिए ।

विधायन समितिको जिम्मेवारी भने वडा नम्बर १६ कि अध्यक्ष रोजिना श्रेष्ठलाई दिइएको थियो । चार वडाध्यक्षहरूलाई पाइरहेको जिम्मेवारीबाट हटाएपछि बालेन एक्लो बनेका थिए । उनले बुधबारका लागि बोलाएको बैठकसमेत प्रभावित बनेको थियो । असार १० गतेसम्म बजेट ल्याइसक्नुपर्ने कानुनी सीमा भए पनि उपमेयर र वडाध्यक्षहरूसँग संवाद नै नभएपछि मेयर बालेनमाथि ठूलो चुनौती आएको थियो ।

उपप्रमुख सुनिता डंगोलको अगुवाइमा कार्यपालिका र नगरसभाको अनौपचारिक बैठक बसेर निरन्तर दबाब दिएपछि बालेन पछिल्लो समय आफूले गरेका केही निर्णयबाट पनि पछि हटेको स्रोतले बतायो । बालेनको पछिल्लो निर्णयसँगै अब बजेट ल्याउने विषयमा छलफल अघि बढ्ने संकेत देखिएको छ ।