काठमाडौं । ललितपुरको ग्वार्कोमा निर्माण सम्पन्न ओभरपास शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार अपरान्ह ४ बजे ओभरपासको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ। जेठ ६ गते दिउँसो प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सांसदहरूसँग प्रश्नोत्तर कार्यक्रम छ ।
सांसदहरूले सोधेका प्रश्नको जवाफ दिइसकेपछि प्रधानमन्त्री ओली त्यतैबाट ग्वार्को पुग्ने कार्यक्रम छ । गत शनिबार भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहालले सडक विभागको टिमसहित स्थलगत निरीक्षण गरेर उद्घाटनका लागि आवश्यक तयारी गर्न निर्देशन दिएका थिए ।
सोहीअनुसार ओभरपास निर्माणका लागि राखिएका संरचना हटाइसकिएको छ । बिहीबार बिहानैदेखि ओभरपास अवलोकन गर्न सयौं सर्वसाधारण पुगेका छन् । काठमाडौंमा कलंकी चोकमा चिनियाँ सहयोगमा अन्डरपास निर्माण भई सञ्चालनमा आइसकेको छ । जसकारण त्यहाँ अहिले शून्य ट्राफिक जाम छ । ग्वार्को चोकमा ओभरपास सञ्चालनमा आएसँगै सवारी जामको समस्या सधैंका लागि अन्त्य हुने विश्वास गरिएको छ ।
प्रतिक्रिया