नायक पल शाहले आफूलाई भारत वा चिनको बोर्डर गएपनि दर्शकले चिन्ने, तर फिल्म मात्र खेल्ने कलाकारहरुलाई बाटोमा हिड्दा पनि दर्शकले नचिन्ने तर्क गरेका छन् । आज आयोजना भएको फिल्म ‘मोहर’को गीत रिलिज कार्यक्रममा पलले फिल्म मात्र खेल्ने कलाकारहरुमाथि कटाक्ष गरे ।
तपाई फिल्मसँगै भिडियो पनि खेल्नुहुन्छ, महोत्सवमा पनि नाच्नुहुन्छ ? तर, फिल्ममा काम गर्ने धेरै कलाकारहरुले यसो गर्दैनन्, तपाई किन गर्नुहुन्छ भन्ने प्रश्नमा पलले विवादस्पद तर्क दिएका छन् । पलले भने–‘मलाई दर्शकहरुसँग हात मिलाउन, उहाँहरुको प्रतिक्रिया लिन मनपर्छ । मलाई मेरो काम कस्तो हुँदैछ आमा, कस्तो हुँदैछ भनेर बुबा भनेर सोध्न मन लाग्छ । यसैले म मेला महोत्सवमा पुग्ने गर्छु । म्युजिक भिडियोमा ४–५ लाख रुपैयाँ दिन्छु भनेर अफर आउँदा कसले खेल्दैन भन्नुहोस् त ? अहिले भिडियोमा १० लाखको बजेटमा काम हुन्छ । मैले २०–२५ वटा भिडियोमा काम गर्छु । सबैले मन पराउनुभएको छ ।’
पलले नेपालमा हल कम भएको र अधिकांश दर्शकले भिडियो खेल्ने मोडललाई चिन्ने तर्क गरे । उनले अगाडि भने–‘नेपालमा कति हल छ भन्नुहोस् त ? जम्मा ३ प्रतिशत दर्शकले फिल्म हेर्नुहुन्छ । बाँकी ९७ प्रतिशतले फिल्म नै हेर्नुहुँदैन । अनी, फिल्म नहेरी नेपाली फिल्म यस्तो भएन उस्तो भएन भनेर कुरा काट्नुहुन्छ । कि सबैले फिल्म हेर्नुहोस् । सबैले कुरा गर्नुहोस् फिल्मको बारेमा ।’
पल भन्छन्–‘जहाँ हल छैन, त्यहाँ के पुग्छ भन्दा म्युजिक भिडियो पुग्छ । फिल्म हलमा हेर्ने कलाकारहरुलाई अधिकांश दर्शकले चिन्नुहुन्न । बाटोमा हिड्दा पनि को आयो के गयो, दर्शकलाई पत्तो हुँदैन । तर, म्युजिक भिडियोका कलाकारहरुलाई हेर्नुहोस् त । म पल शाहलाई हेर्नुहोस् । भारतको बोर्डर, चिनको बोर्डर जाऔं, देश विदेश जाऔं । त्यहाँ दर्शकले माया गर्नुहुन्छ । फिल्म नहेर्ने दर्शकले पनि म्युजिक भिडियो हेरेको थिएँ भनेर चिन्नुहुन्छ । मलाई गर्व लाग्छ । म्युजिक भिडियोमा काम गरिरहेको छु ।
फिल्ममा काम गरिरहेको छु । म कार्यक्रममा गएर आमा–बुबाको आर्शिवाद लिइरहेको छु । मलाई अफर आइरहेको छ, यसैले काम गरिरहेको छु । अरुलाई पनि अफर आएको भए म्युजिक भिडियो खेल्नुहुन्थ्यो होला ।’
पलको यो बयानले फिल्म मात्र खेल्ने, आफूलाई रिजर्भ राख्ने कलाकारहरुलाई आक्रोशित बनाउने देखिएको छ ।
प्रतिक्रिया