दैलेखमा नेपालले ठूलो खजाना फेला पारेको भन्दै भारतीय मिडियामा जोडतोडको प्रचार


काठमाडौं – नेपालले ठूलो खजाना फेला पारेको भन्दै भारतीय मिडियामा जोडतोडका साथ दैलेखको मिथेन ग्यासबारे प्रचार प्रसार हुन थालेको छ । भारतीय सञ्चारमाध्यम इन्डियाटिभीको अनलाइन संस्करणले नेपालले सुन वा चाँदीको नभएर ग्यास भण्डारको खजाना फेला परेको जनाएको छ ।

‘वास्तवमा पश्चिमी नेपालमा मिथेन ग्यासको विशाल भण्डार फेला परेको छ। यो भण्डार यति ठूलो छ कि नेपालको ग्यासको आवश्यकता आगामी ५० वर्षसम्म सजिलै पूरा हुनेछ। बिहीबार जारी गरिएको एक प्रतिवेदनमा यो खुलासा गरिएको छ। अब यो ग्यास भण्डारको गुणस्तर र अन्य क्षमताहरूको मूल्याङ्कन गर्न थप प्रक्रिया सुरु गरिएको छ,’ समाचारमा भनिएको छ ।
समाचारमा जनाइअनुसार दैलेखको जलजले क्षेत्रमा फेला परेको विशाल ग्यास भण्डार लगभग ४३० अर्ब घन मिटर पुग्न सक्छ र यसले आगामी ५० वर्षसम्म नेपालमा ग्यासको माग पूरा गर्न सक्ने जनाइएको छ ।

नेपालमा यो ग्यास भण्डारको खोजपछि घरेलु ऊर्जा स्रोतहरूको शोषण गर्ने सम्भावना उल्लेखनीय रूपमा बढेको पनि समाचारमा भनिएको छ। दैलेखमा पहिलो उत्खनन अभियान ११ मे २०२१ मा सुरु गरिएको थियो। यो उत्खनन चार हजार मिटरभन्दा बढी गहिराइमा पुगेको थियो। उत्खननमा एउटा इनारमा अनुमानित १.१२ अर्ब घनमिटर मिथेन ग्यास पत्ता लागेको छ ।

इन्डियाटिभीले गोरखापत्रको हवाला दिँदै भनेको छ, उत्खनन अभियानमा चारवटा इनारलाई लक्षित गरिएको छ। जारी गरिएको प्रतिवेदनले एउटा मात्र इनारबाट प्राप्त प्रारम्भिक नतिजाहरूको वर्णन गर्दछ। प्रारम्भिक अनुमानले यस क्षेत्रमा अनुमानित ग्यास भण्डार ४३० अर्ब घनमिटर पुग्न सक्ने सुझाव दिन्छ।

नेपालको खानी तथा भूगर्भ विभागका उपनिर्देशक तथा पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले यो नेपालमा अहिलेसम्मको सबैभन्दा गहिरो र आधुनिक अन्वेषण भएको बताएका छन्। ग्यास भण्डारहरूको गुणस्तर र आर्थिक सम्भावनाको मूल्यांकन गर्न परीक्षण भइरहेको जनाइएको छ ।