काठमाडौं – ६० किलो सुन तस्करी प्रकरणमा नयाँ ट्विस्ट भएको छ । सुन तस्करीको आरोपमा अमला रोकालाई प्रहरीले पक्राउ गरेको छ ।
चिनियाँ नागरिक दावा छिरिङकी पत्नी अमलालाई प्रहरीले टोखाबाट शुक्रबार पक्राउ गरेको हो । रोल्पाकी अमलामार्फत नै दावाले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशसँग सम्बन्ध बनाएको प्रहरीको दाबी छ ।
२०८० साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि बरामद भएको ६० किलो सुन तस्करी प्रकरणमा प्रहरीले २० जनाभन्दा बढीविरुद्ध अदालतमा मुद्दा दर्ता गरिसकेको छ । तर प्रहरीले अनुसन्धान पनि जारी राखेको छ । चिनियाँ नागरिक दावाको माओवादी नेता नन्दबहादुर पुन, वर्षमान पुन, ओनसरी घर्तीमगरलगायतसँग पनि बाक्लो बसउठ रहेको प्रहरीले पत्ता लगाएको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठले पार्टीका नेताहरुलाई उन्मुक्ति दिलाएका थिए । सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा पनि पक्राउ परेका थिए । पछि उनी धरौटी छुटेका थिए ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुन तस्करीका विषयमा दोस्रो चरणको अनुसन्धान गरिरहेको छ। सीआईबीको दोस्रो चरणको अनुसन्धानले सुन तस्करीको भुक्तानीका लागि अनलाइन सेवा प्रदायक कम्पनीबाट एक खर्बभन्दा बढीको कारोबार भएको खुलेको छ । विशेषगरी चिनियाँ समूहले नेपालमै बसेर हङकङ र दुबईबाट एक साथ सुन ल्याउने गरेको खुलेको थियो । दोस्रो चरणको अनुसन्धानका क्रममा सीआईबीको हिरासतमा अहिले २० आरोपी छन् ।
प्रतिक्रिया