हर्ष र पीडा सँगसँगै, खुलेर अघि बढ्न नसक्दै बित्यो तीन वर्ष


काठमाडौं – प्रतिनिधिसभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले असार ७ गते स्थापनाको तेस्रो वर्ष पूरा गरी चौथो वर्ष मनाउँदैछ । २०७९ असार ७ गते रास्वपाको स्थापना भएको थियो । पार्टी स्थापनाको ६ महिना नहुँदै भएको आमनिर्वाचनमा रास्वपाले प्रत्यक्षतर्फ सात स्थान र समानुपातिक १४ गरी २१ सिट प्राप्त गरेको थियो । २०८० वैशाख १० गते भएको उपनिर्वाचनमा रास्वपाका स्वर्णिम वाग्ले तनहुँबाट निर्वाचित भएर थप एक सिट बढाएका थिए ।

प्रत्यक्षतर्फ रास्वपाले आठ सिट जिते पनि समानुपातिकतर्फ भने उसले उल्लेख्य मत प्राप्त गरेको थियो । उसले कांग्रेस र एमालेले पाउँदै आएको समानुपातिक मत खोसेर आफ्नो सिट बढाएको थियो । रास्वपाको ‘वन मेन आर्मी’ भनेकै रवि लामिछाने हुन् । उनलाई नै हेरेर दूरराजका मान्छेले घन्टीमा भोट हालेकोमा दुई मत छैन । तर नियति वा संयोग भनौं पार्टीले तेस्रो स्थापना दिवस मनाइरहँदा रवि भने भैरहवा जिल्ला कारागारमा छन् ।

रविमाथि सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरण गरी चारवटा कसुरमा अनुसन्धान भइरहेको छ । गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक हुँदा गीतेन्द्रबाबु (जिबी) राईसँग मिलेर रुपन्देही, कास्की, चितवन, काठमाडौं र पर्सामा रहेका पाँचवटा सहकारीको रकम अपचलन गरेको उनीमाथि अभियोग लागेको छ । रवि रुपन्देही, कास्की, काठमाडौं र चितवन जिल्ला अदालतबाट धरौटीमा छुटेका थिए । तर पछि उच्च अदालत बुटवल इजालसले जिल्लाको आदेश उल्ट्याउँदै रविलाई कारागारमै बसेर मुद्दाको पुर्पक्ष गर्न आदेश सुनाएपछि उनी हिरासतमा पुगेका हुन् ।

जुन व्यक्तिकै लोकप्रियता, भाषण र व्यक्तित्व हेरेर जनताले रास्वपालाई गरेका थिए आज तिनै व्यक्ति हिरासतमा पुग्दा उनका समर्थक, शुभेच्छुक र प्रशंसक चिन्तित बनेका छन् । रवि सुरुदेखि नै विवादमा तानिएका हुन् । चुनावमा २१ सिट जित्नेवित्तिकै उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा जानु नै रविका लागि कालो दिन सुरु भएको धेरैको भनाइ छ । जनताले प्रतिपक्षमै बस्न दिएको म्यान्डेटविपरीत रवि सरकारमा गए । गृहमन्त्री भएको केही दिनमै उनीविरुद्ध दोहोरो नागरिकता र राहदानी लिएको मुद्दा अदालतमा दायर भयो । दोहोरो नागरिकता लिएको विषयमा अदालतले उनको सांसद पद नै खारेज गरिदियो । त्यसपछि उनले सांसद, मन्त्री र पार्टीको सभापति गुमाए । पुनः नेपाली नागरिकता लिएपछि उनी सभापतिमै फर्के । चितवनमा भएको उपनिर्वाचनमा पुनः विजयी भए । र, फेरि सरकारमा गए । गृहमन्त्री नै बने । त्यहीबेला उनले दोहोरा राहदानीको मुद्दा नचल्ने निर्णय त गराए, तर त्यो जुनसुकै बेला ब्यूँतिने सम्भावना जीवितै छ ।

सञ्चारकर्मी भएका बेला रविले बनाएको व्यक्तित्व सहकारी ठगी प्रकरणमा आइपुग्दा कालोमैलो भइसकेको छ । उनको सांसद पद निलम्बनमा परेको छ । तर पनि रास्वपाको सभापति र संसदीय दलको नेता उनै छन् । रविबाहेक रास्वपामा कोही पनि नेतृत्व लिन सामथ्र्य भएको नेता छैनन् भन्ने म्यासेज गइरहेको छ ।

सहकारी ठगी प्रकरणमा कांग्रेसकै अडानले रवि जेल पुगेको रास्वपाको बुझाई छ । त्यही भएर अहिले भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर संसद् अवरोध गरिरहेको छ । रास्वपाको अवरोधले संसदमा बजेटमाथिको छलफल हुन सकेको छैन । रास्वपाको मुख्य शत्रु नै अहिले कांग्रेस भए जस्तो देखिएको छ । कांग्रेसको अवनतिमा आफ्नो उन्नति देखेको रास्वपाले यो तीन वर्ष सिकाइमै पूरा गरेको छ । यो तीन वर्ष रास्वपा खुलेर हिँड्न सकेको छैन ।