काठमाडौं – काठमाडौं महानगर प्रहरी बलले आफ्नो पोसाक र सुरक्षा सामग्री नेपाली सेनाकै जस्तो बनाएको छ । गृह मन्त्रालयको निर्देशनविपरीत नेपाली सेनाको जस्तै पोशाक प्रयोग गरेपछि जंगी अड्डाले असन्तुष्टि जनाएको छ ।
आत्मसुरक्षाका लागि भन्दै बलले आइतबार नगर प्रहरीलाई विभिन्न सामग्री वितरण गरेको छ । जसमा हेल्मेट, लाठी, सिल्ड रहेको छ । ‘केएमसी पुलिस’ लेखिएको बुलेट प्रुफ ज्याकेट पनि उपलब्ध गराइएको छ । बुलेट प्रुफ ज्याकेट भिरेर हातमा सिल्ड र लाठी बोकेका नगर प्रहरी ठ्याक्कै प्रहरीर सेना जस्तै देखिएका छन् । आमसर्वसाधारणलाई भ्रममा पार्न यस्तो कपी गरिएको भन्दै काठमाडौं महानगर प्रहरी बलको आलोचना गरिएको छ ।

महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले सेनाको पोसाकसँग मिल्ने पोशाक लगाउँदै आएका छन् । उनले चढ्ने गाडी पनि सेनाको जस्तै छ । गृहले गत असोज १४ गते सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै सुरक्षाकर्मीको पोशाक र दर्ज्यानी चिन्हसँग मिल्दोजुल्दो हुनेगरी सरकारी वा गैरसरकारी निकाय र संघसंस्थालाई पोशाक र दर्ज्यानी चिन्ह प्रयोग गर्न नदिन निर्देशन दिएको थियो । नेपाली सेना र प्रहरीको जस्तो पोसाक राखिएपछि महानगर प्रमुख बालेनको पनि आलोचना हुन थालेको छ ।
प्रतिक्रिया