स्वर्णिम वाग्लेले शंकरदास वैरागीमाथि लगाए संगीन आरोप


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्ले पूर्वमुख्यसचिव शंकरदास वैरागीमाथि खनिएका छन्। सरकारले सोमबार वैरागाीको अध्यक्षतामा भिजिट भिसा प्रकरणमा उच्चस्तरीय समिति गठन गरेपछि वाग्ले उनीमाथि खनिएका हुन् ।

मंगलवार प्रतिनिधिसभा बैठक बहिस्कार गरेर बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा उपसभापति वाग्लेले पूर्वमुख्यसचिव वैरागीमाथि निकै आक्रामक भएर संगीन आरोप लगाए। उनले गृहमन्त्री लेखकले आफ्नो ‘गोजी’बाट वैरागीको नाम ल्याएको दाबी गरे ।

‘जो माथि आरोप लागेको छ, उसैले मन्त्रीपरिषद्मा प्रस्ताव लगेको छ,’ वाग्लेले भने, ‘उसैले छानबिन समितिको अध्यक्ष तोकेको छ गोजीबाट। उसैको मातहत रहेका सहसचिव छन् सदस्य।’

त्यसपछि वाग्ले वैरागीतर्फ केन्द्रित सुनिए। ‘अध्यक्ष छन् एकजना पूर्व कर्मचारी । जो विगत १० वर्षदेखि स्थायी सत्ताको प्रिय पात्रका रूपमा परिचित हुनुहुन्छ। सात सात वर्ष परराष्ट्र सचिव, पछि मुख्यसचिव,’ वाग्लेले भने। उनले वैरागीमाथि रहस्यमय ढंगले मुख्यसचिवको पद छाडेको आरोप लगाए। उनले भने, ‘त्यो पद पनि रहस्यमय ढंगले छाडेर राष्ट्रिय सुरक्षा सल्लाहकार बन्न जानुहुन्छ।’

वैरागीले छाडेको मुख्यसचिव पदमा नेपालका ठुला टेलिकम घोटालामा संलग्न व्यक्ति आएको भन्दै अर्का मुख्यसचिव वैकुण्ठ अर्यालतर्फ पनि सोझिए। ‘त्यो ठाउँमा आउँछन् यो देशकै सबैभन्दा ठुला टेलिकमसँग सम्बन्धित घोटालाहरू घटाइएका पात्रहरू सुनिल पौडेल, विकल पौडेल र पूर्व सञ्चार सचिव वैकुण्ठ अर्याल इत्यादिको यो नेक्सससँग कतै न कतै यो साइनो देखिन्छ,’ वाग्लेले भने।

कतिसम्म भने वाग्लेले ‘विश्वस्त सूत्र’को हवाला दिँदै अहिले छानबिन समितिको अध्यक्ष नियुक्त वैरागीमाथि अनुसन्धान भइरहेको आशय पनि व्यक्त गरे। अहिले बनेको समिति भिजिट भिसा प्रकरणलाई फासफुस गर्न बनाइएको वाग्लेले आरोप लगाए । ‘यति गम्भीर विषयलाई टालटुल समिति बनाएर फासफुस गर्ने रणनीतिमा यो सरकार गएको देखिन्छ। यो समिति सुनपानी छर्किने, जोगाउने, चोख्याउने खराब नियतले जन्मिएको हुनाले यो समिति रास्वपालाई स्वीकार्य छैन,’ उनले भने ।