निर्देशक निरञ्जन नेपालको पर्यटन क्षितिज बिस्तार गर्ने महाअभियानमा



काठमाडौं : निरञ्जन पाण्डे नेपालका चर्चित छायाँकार, फिल्म सम्पादक तथा निर्देशक हुन् । विगत केही वर्षदेखि अमेरिकामा रहेका उनी आफ्नो नयाँ वृत्तचित्र ‘जिरो टु ८८४८’ मार्फत नेपालीको पहिचानलाई विश्वभर फैलाउन सक्रिय छन् । यस वृत्तचित्रलाई पाण्डे र बलराम बुढाथोकीले संयुक्त निर्देशन गरेका छन् ।

झापाको कचनाकवलदेखि ५ सय १० किलोमिटर लामो यात्रा झन्डै ९० दिनपछि (१२ मेइ २०२४ , बिहान ७ बजे ५२ मिनेटमा) सगरमाथाको शिखरमा गएर सम्पन्न भएको थियो । उक्त ऐतिहासिक यात्रामा आधारित रहेर वृत्तचित्र निर्माण गरिएको हो । पाण्डेका अनुसार, यो परियोजना केवल एक फिल्म मात्र होइन, नेपालको पर्यटन र संस्कृतिको आयामलाई विश्वसामु पु¥याउने एउटा महत्वाकांक्षी प्रयास हो । प्रेम बानियाँ, श्री राम वाग्ले, बलराम बुढाथोकी र पाण्डेले मिलेर अघि बढाएको यस परियोजनामा देशका विशिष्ट व्यक्तिहरु समेत जोडिएका छन् । ‘अमेरिकामा बसेपनि नेपालका लागि केही गर्नुपर्छ भन्ने सोच राखेर हामी छलफल गरिरहेका हुन्छौं । त्यहीक्रममा प्रेमजीले यो अवधारणा अघि बढाउनुभयो र हामीले यसलाई निर्देशन गर्नेगरी तयारी थाल्यौं,’ पाण्डेले भने ।

‘१६ पटक सगरमाथा आरोहण गरिसक्नु भएका टेण्डी शेर्पाले यस वृत्तचित्रलाई भव्य बनाउनकै लागि एकै साताभित्र दुईपटक हिमाल आरोहण गर्नुभयो । सुजन गुरुङ र दोर्जी शेर्पाले पनि शिखरमै पुगेर उक्त ऐतिहासिक दृश्य क्यामेरामा कैद गर्नुभएको छ,’ पाण्डेले भने, ‘विश्व साइकल यात्री पुस्कर शाह मुन्दुम ट्रेलमा हाम्रो टोलीसँग भेटिनुभएको छ र उहाँको भेटले कथालाई अझै रोमान्चक बनाउँदै लग्छ ।’

१८ पटकका सगरमाथा आरोही टेण्डी शेर्पा, हलिउड अभिनेता तथा आरोही कोन्नाड एन्कर लगायतसँग छलफल गरेपछि अमेरिकाबाट पाण्डे र बानियाँसहितको टोली वृत्तचित्र छायाँकनका लागि नेपाल आएको थियो । झन्डै दुई वर्षअघि नै यसको परिकल्पना तयार भएर थप अध्ययनको काम चलेको पाण्डेले सुनाए । पाण्डेले यस वृत्तचित्रलाई नेपाल चिनाउने अभियानस्वरुप विश्वका विभिन्न देशमा प्रदर्शन गरिने लक्ष्य रहेको बताए । ‘हामी विभिन्न माउन्टेन फिल्म फेस्टिभलमा पठाउनेछौं । त्यस्तै अमेरिकाका विभिन्न राज्यमा विशेष प्रदर्शनी गर्नेछौं । त्यसपछि युरोप, अस्ट्रेलिया र एशियाका अन्य देश हुँदै अन्त्यमा आगामी वर्षको जनवरीमा नेपालमा प्रदर्शनी गर्नेछौं ।’

जिरो भिलेजको परिकल्पना
समुद्री सतहदेखि केवल ५८ फिट उचाईमा रहेको झापाको कचनकवलमा जमिन खनेर जिरो भिलेज निर्माण गर्न सकिने अवधारणा यस वृत्तचित्रले अघि सारेको छ । ‘हामीले यसलाई ’जिरो भिलेज’ नाम दिएका छौं, जहाँबाट मान्छेले यात्रा सुरु गर्न सक्छन् । समुद्री सतहदेखि विश्वकै छानोसम्म सबैभन्दा छोटो दूरीको पदमार्ग यही नै हुनेछ ।’ यो पदमार्ग स्थापनाका लागि संसारका विभिन्न देशहरुको अनुभव र ब्यबहारिक पक्षबारे लामो समय अध्ययन र अनुसन्धान गरिएको पाण्डेले बताए । जसअनुसार यो रुट झापा जिल्लाको कचनकवलदेखि सुरु भएर इलामको कन्याम, श्रीअन्तुहुँदै धनकुटाको नाम्जे र हिले बजार पुग्छ ।

त्यसपछि भोजपुरमा मुन्धुम ट्रेललाई छोएर खोटाङको हलेसीहुँदै ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगा पुग्छ । लगतै सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के त्यसपछि फाक्दिङहुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ ९साउथकोल०, हिलारी स्टेप र समिट ८८४८ सम्पन्न गर्नेछ ।

‘यो आजसम्म कसैले नसोचेको र परिकल्पना नगरेको योजना हो,’ निर्देशक पाण्डेले भने, ‘ यसले नेपालको पर्यटनलाई नयाँ क्षितिजमा पु¥याउनेछ ।’

पाण्डेले यो वृत्तचित्रमा नेपालका विभिन्न भौगोलिक क्षेत्र र त्यससँग जोडिएका संस्कृतिलाई एकैसाथ देख्न सकिने बताए । ‘तराईको संस्कृति, पहाडको सुन्दर चियाबारी र त्यससँग जोडिएको संगीत, अनि हिमालको शेर्पा संस्कृति, यी सबैलाई हामीले एउटै यात्रामा समेटेका छौं,“ उनले भने । उनले यो रुटलाई संसारको सबैभन्दा छोटो ट्रेकिङ ट्रेल, ग्लोबल वार्मिङको अध्ययन गर्ने उत्कृष्ट स्थान र जियो–टुरिजमको नयाँ सम्भावनाको रुपमा विकास गर्न सकिने बताए । ‘हाम्रो मुख्य उद्देश्य भनेको नेपाललाई विश्व पर्यटनको नक्सामा एक प्रमुख गन्तव्यको रूपमा चिनाउनु हो,“ पाण्डेले भने । उनले यस परियोजनाले नेपालमा रोजगारीका नयाँ अवसरहरू सिर्जना गर्ने र देशको आर्थिक विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । उनले यो डकुमेन्ट्रीलाई संसारभरका ३० भन्दा बढी फिल्म फेस्टिभलमा पठाउने र अगस्ट महिनाबाट अमेरिकामा यसको प्रदर्शन सुरु गर्ने योजना सुनाए ।

टोलीको समर्पणको प्रशंसा
निर्देशक पाण्डेले यस परियोजनामा आफ्नो टोलीको समर्पण र मेहनतको पनि प्रशंसा गरे । उनले आरोही टेन्डी शेर्पाले यस वृत्तचित्रकै दौरान एक हप्ताभित्र सगरमाथाको दुई पटकको सफल आरोहण गरेको बताए । विश्व साइकल यात्री पुष्कर शाहले निरञ्जन पाण्डे र बलराम बुढाथोकीको कुशल निर्देशनमा भएको यस यात्राले नेपालको बहुआयामिक सम्भावनाको खोजी गरेको बताए । आरोही टेन्डी शेर्पाले पाण्डेको कुशल निर्देशन र टोली व्यवस्थापनको प्रशंसा गर्दै यस डकुमेन्ट्रीलाई नेपालको समग्र सुन्दरता र संस्कृतिको चित्रण गर्ने माध्यमको रूपमा हेरेको बताए ।
ट्याग नेपालका सह–संस्थापक तथा वृत्तचित्रका लाइन प्रोड्युसर गोविन्द गुरुङले निरञ्जन पाण्डेको नेतृत्व क्षमता र सक्रियताको प्रशंसा गर्दै यस परियोजनाको सफलतामा उनको महत्वपूर्ण भूमिका रहेको बताए । ‘यस वृत्तचित्रको निर्माण गर्न पाउँदा निकै खुसी छु । म पर्यटन व्यवसायमा छु । तर यो नयाँ अनुभव र फिल्म टिमसँगको सहकार्य पनि निकै रमाइलो रह्यो । भविष्यमा लाइन प्रोड्युसरका रुपमा नभएर निर्माताकै रुपमा फिल्म उद्योगमा सक्रिय हुन मन लागिरहेको छ,’ उनले भने ।

वृत्तचित्रको सम्पादन पनि निर्देशकद्वय निरन्जन पाण्डे र बलराम बुढाथोकीले मिलेर गरेका हुन् । श्री राम वाग्ले कार्यकारी निर्माता रहेको वृत्तचित्रमा उमंग शाही, केशव निरौला, सुरज गुरुङ, सुजन गुरुङ र दोर्जी शेर्पा सिनेमाटोग्राफर छन् । सौरभ ढकालले लाइभ साउन्ड डिजाइनिङ गरेका छन् । प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् ।