फेरिँदै त्रिवि क्रिकेट मैदानको स्वरूप, राख्न थालियो प्यारापिटमा कुर्सी


काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट राख्न थालिएको छ। यो रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन र रात्रिकालीन खेल सञ्चालन गर्न फागुनदेखि काम थालिएको थियो। पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण र आठवटा फ्लडलाइट जडान गरिनेछ।

नेपालमा एउटा पनि गतिलो अन्तर्राष्ट्रिय क्रिकेट मैदान नभएपछि त्रिवि क्रिकेट मैदानको स्तरोन्नति गरिएको हो । नेपालमा हुने आइसिसीका अधिकांश प्रतियोगिता त्रिवि क्रिकेट मैदानमै हुने गरेको छ । असार मसान्तसम्म रंगशाला निर्माण पूरा भइसक्ने कार्यतालिका भए पनि अझै फ्लडलाइट जडान गर्न बाँकी नै छ ।

त्यसैले ठेकेदारले थप एक महिना समय माग्ने भएका छन् । अहिले विभिन्न प्रकारका कुर्सी प्यारापिटमा राखिँदै छ । निर्माणको जिम्मा पाएको बिजी कन्स्ट्रक्सनका इञ्जिनियर सुनील शाहका अनुसार प्यारापिटमा पहेलो, सेतो, खैरो, नीलो र सुन्तला गरी पाँच रङका कुर्सी जडान हुने छन् । प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।