सार्वजनिक रूपमै सुुनिताले बालेनलाई दिइन् चुनौती


काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सार्वजनिक रूपमै मेयर बालेन्द्र साह बालेनलाई जवाफ फर्काएकी छन् । सोमबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको उपस्थितिबिना बजेट ल्याउन नमिल्ने बताएकी छन् । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत गुरागाईविनै बजेट र नीति तथा कार्यक्रम ल्याउन खोजेपछि सुनिताले आपत्ति जनाएकी हुन् ।

गुरागाईंको उपस्थितिबिना कार्यपालिका र नगरसभा बैठक राख्ने विषयले महानगरमा समस्या उत्पन्न गरेको भनी सञ्चारमाध्यममा आएका समाचारप्रति उनले प्रतिक्रिया जनाएकी हुन् । उनले उक्त कार्य कानूनी हिसाबले उचित नहुनेमा आफू अडिग रहेको बताइन् । प्रमुख प्रशासकीय अधिकृतको सन्दर्भमा जनप्रतिनिधिले बैठकमै राखेर खुल्ला रुपमा प्रश्न गर्न पाउनुपर्ने उनको भनाइ छ ।

‘प्रमुख प्रशासकीय अधिकृतलाई बैठकमा सहभागी नगराई जनप्रतिनिधिलाई नै प्रश्न गर्ने अवसरबाट वञ्चित गराउनु उचित होइन । यसरी उहाँलाई बैठकबाट बाहिर राख्दा जनप्रतिनिधिका प्रश्नबाट भाग्न खोजिएको हो कि भन्ने संशय जनतामा उठ्न सक्छ । त्यसैले, प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनिधिका प्रश्नबाट भाग्न दिने होइन, बरु उहाँले बैठकमा नै सामना गर्नुपर्ने भएकाले उहाँको उपस्थिति अनिवार्य हुनुपर्छ भन्ने मेरो दृढ मान्यता छ,’ डंगोलले लेखेकी छन् ।

कानुनी व्यवस्थाअनुसार असार १० गते नै महानगरले बजेट प्रस्तुत गरी मसान्तभित्र पारित गरिसक्नुपथ्र्यो । तर हालसम्म बजेट निर्माणका लागि आवश्यक कार्यपालिका र नगरसभा बैठकमात्र नभई महत्वपूर्ण समिति बैठकसमेत बस्न नसकेको भन्दै उनले संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई आग्रह गरेकी छन् ।

‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी, वातावरण बिगार्ने होइन सम्हालेर, आवेग र उत्तेजनामा होइन संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी बनौँ । डुंगा प्वाल पारेर अरुलाई खसाल्ने र आफू मात्रै बाच्ने दुर्भाग्यको बाटो रोज्ने, खोज्ने प्रयास नगरौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ,’ उनले भनेकी छन् ।