काठमाडौं – केही दिनदेखि गुमनाम रहेका माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अमेरिकामा प्रकट भएका छन् । पाँच दिनअघि उनी सुटुक्क अमेरिका प्रस्थान गरेका थिए । उनको अमेरिका भ्रमणबारे कसैले पनि थाहा पाएका थिएनन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठ अमेरिका पुगेको सार्वजनिक भएको छ । उनले अमेरिका आउनुको कारण माओवादी नेतृत्वको सरकारका बेला भएका सुशासनका कामबारे जानकारी गराउन रहेको दाबी गरेका छन् । जबकि श्रेष्ठ गृहमन्त्री हुँदा सुन तस्करीमा संलग्न माओवादी नेताहरूलाई उन्मुक्ति दिइएको थियो ।

‘पछिल्लोपटक सरकारमा रहँदा सुशासनको अभियान लाई गुणात्मक रुपमा अघि बढाउने कार्य गर्दैगर्दा सरकारबाट हटाइएपछि हामीले जनतासँग माओवादी अभियानअन्तर्गत हुलाकी मार्गकेन्दृत तराई मधेश जागरण अभियान र मध्यपहाडी लोकमार्ग केन्द्रित हिमाल पहाड जागरण अभियान मूलतः सम्पन्न गर्यौं। त्यसपछि अहिले म अमेरिकामा रहनुभएका नेपाली र नेपालीमूलका दिदीबहिनी दाजुभाइहरुसँग सम्पर्क र छलफलका निम्ति अमेरिकाको भ्रमणमा आएको छु । यसक्रममा म हिजो लसएन्जेल्स आइपुगेको छु,’ श्रेष्ठले भनेका छन् ।
लस एन्जलसका लागि अवैतनिक महावाणिज्यदूत ऋषि गुणाखर ढकालले आयोजना गरेको कार्यक्रममा नेपालको वर्तमान परिस्थिति, आजको समृद्धिको राष्ट्रिय कार्यभार, चुनौती एवं सम्भावना, गैरआवासीय नेपाली नागरिकताको वैधानिक व्यवस्था र विदेशमा रहेका नेपाली समुदायबाट देशले गरेको अपेक्षाको सम्बन्धमा आफ्ना भनाइ राखेको उनको भनाइ छ ।
प्रतिक्रिया