तीन न्यायाधीशको नाम अनुमोदन, रविको पक्षमा बहस गरेका पोखरेल बन्ने भए न्यायाधीश


काठमाडौं – संसदीय सुनुवाइ भएको १० दिनपछि तीन न्यायाधीश र एक न्याय परिषद् सदस्यको नाम अनुमोदन भएको छ । प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा प्रस्तावित तीन न्यायाधीशको नाम अनुमोदन गरेको हो ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले सर्वोच्च अदालतका प्रस्तावित वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दीपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समिति सभापति र्इश्वरीदेवी न्यौपानेले जानकारी दिइन् ।

गत २७ जेठमा बसेको न्यायपरिषद् बैठकले तीनजनालाई सर्वोच्चको न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । सुनुवाइ समितिबाट नाम अनुमोदन भएकाले अब उनीहरू नियुक्तिको बाटो खुलेको छ । बैठकले न्यायपरिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको नाम पनि अनुमोदन गरेको छ। सुनुवाइ भएको यतिका दिन बितिसक्दा पनि नाम अनुमोदन हुन नसकेपछि विभिन्न शंका उपशंका भएको थियो । शीर्ष नेतृत्वको इसारापछि समितिले सोमबार नाम अनुमोदन गरेको हो । नाम अनुमोदन भएका वरिष्ठ अधिवक्ता पोखरेलले रास्वपा सभापति रवि लामिछानेको पक्षमा बहस गरेका थिए । उनी अब न्यायाधीश नियुक्त हुनेछन् ।

यद्यपि प्रमुख प्रतिपक्षी माओवादीले भने बहिष्कार गरेको थियो । माओवादी सांसदहरूले नियुक्ति समावेशी नभएको भन्दै बैठक बहिष्कार गरेका थिए । माओवादी उपमहासचिव जनार्दन शर्माले सिफारिस भएका व्यक्तिको नाममा कुनै आपत्ति नभए पनि दलित कोटा खाली गरेर सिफारिस गर्नु उचित नभएको उल्लेख गरे ।