काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औं जन्मोत्सव मनाउन अहिले निर्मल निवासमा सर्वसाधारणको भीड लागेको छ । सोमबार बिहान ११ देखि दिउँसो २ बजेसम्म पूर्वराजा शाहको बर्थ डेमा शुभकामना र शुभेच्छा दिने सर्वसाधारणका लागि र्निमल निवास खुला गरिएपछि भिडभाड बढेको हो ।
यसपटक शाहले आफ्नो जन्मोत्सवमा शुभकामना दिनेहरुलाई निर्मल निवासमै डाकेका हुन् । सर्वसाधारणको शुभेच्छा ग्रहण गर्दै पूर्वराजा शाहले हालको समय नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। ‘अहिलेको समय वर्षको समय हो। वर्षाको समयमा बाढी, पहिरो, डुबान जस्ता विपद्को सामना गर्नुपर्ने हुन्छ। पानीजन्य बिरामीहरू पनि हुन्छ। त्यसैले सबै दिदीबहिनी दाजुभाईहरूलाई सर्तक रहन र विचार गरेर बस्न मेरो आग्रह छ,’ उनले चने ।
शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताए। उनले आफूभित्र नेपाल भए मात्रै नेपाली हुने जिकिर गरे। ‘यो समय नेपाल र नेपालीको लागि प्रार्थना गर्ने समय हो। हामी नेपालमा मात्रै जन्मिएर नेपाली हुने होइन। नेपाल नै हामीभित्र हुनुपर्छ अनि मात्रै हामी नेपाली हुन्छौं,’ निर्मल निवास पुगेका सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने । शाहको जन्मोत्सव कार्यक्रममा पूर्वराजापरिवारका सदस्यका साथै आफन्तजनको बाक्लो सहभागिता थियो।
प्रतिक्रिया