काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दल रास्वपा र राप्रपाको संसद् अवरोध कायमै रहेको छ । दुवै दलले सोमबार पनि ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै बैठक बहिष्कार गरेका छन्।
निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले सांसद मनिष झालाई बोल्ने समय दिएका थिए। उनले यो सरकार नढलोस् भनी केही महिनाअघि भनेको उल्लेख गर्दै ‘कुलिङ अफ पिरियड’ का बारेमा सभापतिले संसद्मा प्रस्ताव गरेकोभन्दा फरक विषय पारित हुनु दुःखद् भएको बताए।
राप्रपा सांसद दीपकबहादुर सिंहले निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’ को पनि संसदीय समिति बन्न लागेको उल्लेख गर्दै भिजिट भिसा प्रकरणमा प्रधानमन्त्रदेखि तल्लो तहका कर्मचारी जोडिएकाले यस बारेमा छानबिन गर्न संसदीय समितिको माग गरे।
भिजिट भिसाका विषयमा किन संसदीय छानबिन समिति गठन नगरेको भनी प्रश्न गर्दै उनले राप्रपाले आजको बैठक बहिष्कार गर्ने बताए। झा र सिंहले बोलेपछि रास्वपा र राप्रपा सांसद बैठकबाट बाहिरिएका थिए ।
प्रतिक्रिया