रसुवामा बाढीको ताण्डव, तीन साताअघि नै उत्तरतर्फ भनिएको थियो सतर्कता अपनाउन


काठमाडौं – बाढीले नेपाल चीन जोड्ने मितेरी पुल बगाएको छ । मंगलबार बिहान आएको बाढीले सयौँ इभी गाडी पनि बगाएको सूचना प्राप्त भएको छ ।

सुरक्षाकर्मीहरूका अनुसार मालवाहक गाडी र चालक हरु पनि बगाएको हुन सक्ने बताइएको छ, तर स्वतन्त्र रुपमा पुष्टि हुन सकेको छैन । मंगलबार बिहान सवा ३ बजे बाढी आएको हो ।

भोटेकोशीमा आएको बाढीले त्रिशुली नदीको सतह बढेपछि नुवाकोटको विदुर नगरपालिका–१ मा फसेका दुई जनाको उद्धार गरिएको छ । ज्यान जोगाउन रुखमा चढेका उनीहरुको नेपाली सेना श्रीनाथ गणका प्रमुख सेनानी प्रदुम्नप्रसाद गौतमको अगुवाइमा उद्धार गरिएको हो । स्थानीय इन्द्रेणीघाटस्थित त्रिशुली नदीमा फसेकाको यसअघि सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको कालिका गाउँपालिका २ का वडाध्यक्ष उमेश न्यौपानेले जानकारी दिए । बिहानै घाँस–दाउरा गर्न गएका उनीहरु नदीमा एक्कासी बाढी आएपछि फसेका थिए ।

स्याफ्रुबेसी जोड्ने सडकसँगै जलविद्युत आयोजनाहरुमा पनि बाढीले क्षति पुर्‍याइएका छन् । जिल्ला प्रशासन कार्यालय धादिङ, नुवाकोट र रसुवाले त्रिशूली नदीको उपल्लो भूभाग नुवाकोट र रसुवातर्फ अति भारी वर्षा भएकाले सडक पुलमा समेत केही क्षति पुर्‍याएको छ । धादिङ जिल्लाको त्रिशूली नदी किनारका दुवैतर्फ पानीको बहाव बढ्न सक्ने भएकाले त्रिशूली नदी किनारका क्षेत्रमा आवश्यक सतर्कता र सावधानी अपनाउन अनुरोध गरेका छन् ।

तीन साताअघि नै सिन्धुपाल्चोक, रामेछाप जिल्ला प्रशासन कार्यालयले चीनको तिब्बत क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेकाले सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको थियो । तर जल तथा मौसम विभागले तत्काल नेपालको उत्तरी क्षेत्रतर्फ भारी वर्षा नभएको भन्दै समाचार खण्डन गरेको थियो । तीन सातापछि आएर भारी वर्षाको प्रक्षेपण पुष्टि भएको छ ।