बाढीपहिरोमा उद्धार र राहतमा युद्धस्तरमा लाग्न कांग्रेसको आग्रह


काठमाडौं – कांग्रेसले रसुवा, नुवाकोट र सिन्धुपाल्चोकमा बाढी, उद्धार र राहतमा युद्धस्तरमा लाग्न आग्रह गरेको छ ।
रसुवा जिल्लामा भोटेकोशी नदीमा आएको बाढीले गरेको जनधनको क्षतिले सबैलाई दुःखीत र गम्भीर बनाएको भन्दै कांग्रेसले देशव्यापी सतर्कताका लागि अपील गरेको छ ।

‘तीन प्रहरीसहित १५ नागरिक बेपत्ता भएको घटना अत्यन्तै दुःखद छ । नेपाल–चीन जोड्ने मितेरी पुल एवं भन्सार क्षेत्रमा रहेका कन्टेनर र अन्य मोटर बगाउँदा करोडौंको क्षति भएको छ । यो विपत्तिको समयमा उद्दार कार्यलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ कांग्रेसले मंगलबार जारी गरेको विज्ञिप्तमा भनिएको छ ।

वर्षाको समयमा हरेक वर्ष बाढीपहिरोको प्रकोप सामना गर्नुपरेको र बेमौसममै पनि गत वर्ष असोज १२ मा गम्भीर विपत्ति व्यहोर्नु परेको स्मरण गराउँदै कांग्रेसले ऐक्यवद्ध ढंगले प्रकोप सामनामा व्यवस्थित योजना साथ तत्पर रहन तिनै तहको सरकारलाई आग्रह गरेको छ । कांग्रेसले नागरिक तहबाट राख्नुपर्ने उच्च सतर्कताका लागि पनि सार्वजनिक अपील गरेको छ ।