चीनमा हिमताल विस्फोट हुँदा नेपालमा बाढी


काठमाडौं । मंगलबार बिहान रसुवागढीमा आएको बाढीपहिरोले ठूलो क्षति गरेको छ । चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवागढीस्थित नेपाल चीन जोड्ने मितेरीपुल बगाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। बिहान ४ बजेको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको छ।
प्राधिकरणले रसुवा, नुवाकोट, धादिङतफै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

तर मौसमविद् उज्ज्वल उपाध्यायले पछिल्लो १२ घन्टाको मौसमी गतिविधि स्याटेलाइटमा तस्बिर हेर्दा भीषण वर्षा नभएको बताएका छन् । उनले चीनतर्फ रहेका हिमताल फुट्दा नेपालमा बाढी आएको हुन सक्ने अनुमान गरेका छन् ।

‘विगत १२ घण्टाको मौसमी गतिविधि स्याटेलाइट तस्विरमाहरुमा हेर्दा, तिब्बतको भूभागमा पर्ने केरुङ जलाधार क्षेत्रमा त्यस्तो भीषण वर्षा भएको देखिन्न । त्यसैले रसुवागढीको बाढीको प्रारम्भिक कारण हेर्दा, ठूलो वर्षासँगै थप अन्य तीन कारण हुनसक्छन् । १. हिमताल बिस्फोटन, २. हिमपहिरो वा ३. भीषण पहिरो जसले प्राकृतिक बाँध निर्माण हुन गई नदिको बहावलाई केहीबेर रोक्यो र पछि बाँध फुटेर भीषण बाढीको रुप लियो,’ उनले भनेका छन् ।

चीनको तिब्बतमा धेरै हिमताल रहेको र जलवायु परिवर्तनका कारण विस्फोट हुँदा भीषण बाढीपहिरो आएको हुनसक्ने अनुमान सत्यताको नजिक रहेको बुझिएको छ ।