काठमाडौं । रास्वपा र राप्रपाले मंगलबारको संसद् बैठक पनि बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै राप्रपा र रास्वपाले संसद बहिष्कार गरेका हुन्। प्रतिनिधिसभा बैठक सुरू हुनेवित्तिकै रास्वपा र राप्रपाका सांसदले विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले रास्वपा सांसद सोविता गौतम र राप्रपाका सांसद ज्ञानबहादुर शाहीलाई बोल्नका लागि समय दिए। गौतमले भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन नभएसम्म बैठक बहिष्कार जारी राख्ने बताइन्। ‘सभामुख महोदय, हाम्रा माग हिजो पनि आज पनि त्यही हो। नागरिक बेचिनु गम्भीर विषय हो।
यसैले संसदीय छानबिन समिति गठन गरियोस,’ उनले भनिन् त्यसपछि राप्रपा सांसद शाहीले सरकारले आफ्ना मागहरू सुन्न नचाहेको आरोप लगाए। उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्नेमा जोड दिए। उनले लामो समय भइसक्दा पनि सहकारी ठगीका नाइके जीबी राई पक्राउ नपर्नुको कारण सरकारलाई सोधे। विरोधकाबीच सभामुख घिमिरेले सदनको कार्यसूची अघि बढाएपछि दुवै दलका सांसदहरूले सदन बहिष्कार गरेका छन् । रास्वपा र राप्रपाले जेठ १३ गतेदेखि नै आफ्ना कुरा राख्ने र संसद् बहिष्कार गर्दै आएका छन् ।
प्रतिक्रिया