प्रधानमन्त्रीलाई मानव तस्करको बात लगाउँदा निसानामा सोविता गौतम


काठमाडौं । रास्वपा सांसद सोविता गौतम आफूले दिएको अभिव्यक्तिकै कारण अप्ठेरोमा परेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा गौतमले प्रधानमन्त्री केपी ओली स्पेन भ्रमणमा जाँदा मान्छे लगेर त्यतै छाडेको उनले बताएकी थिइन् । जुन अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री कार्यालयले उनलाई पुष्टि गर्न चुनौती दिएको छ ।

‘स्वयं प्रधानमन्त्रीज्यू जानुभएको स्पेनको कार्यक्रममा समेत सहभागी हुने बहानामा गएर नफर्किएको भन्ने समाचारहरू पनि आइरहेका छन्,’ गौतमले भनिन्, ‘यसमा व्यक्ति विशेष हाम्रो केही आरोप छैन । तर यो अत्यन्तै गम्भीर विषय हो ।’ उनले बजारमा यस्ता पनि हल्ला आएका छन् भन्दै प्रधानमन्त्री ओलीमाथि मानव तस्करीको बात लगाएकी थिइन् ।

सांसद गौतमले संसदमा समेत कुरा उठाएपछि प्रधानमन्त्री ओलीको सचिवालयले स्पेन गएकामध्ये को नफर्किएको हो ? भनेर नाम बताइदिन आग्रह गरेको छ। प्रधानमन्त्री ओलीको सञ्चार विज्ञ रामशरण बजगाईले मिडियालाई प्रधानमन्त्री स्पेन भ्रमण जाँदाको लिस्ट नै पठाएर त्यसमध्ये को को नआएका हुन् जानकारी गराइदिन गौतमलाई चुनौती दिएका छन् ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको ‘विकासका लागि वित्त’ विषयक सम्मेलनमा सहभागी हुन असार १४ गते स्पेन गएका थिए। स्पेनबाट उनी २० गते स्वदेश फर्किएका थिए।

संसद् बैठकमा एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको भ्रमणबारे रास्वपा सांसद गौतमको अभिव्यक्ति निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन माग गरे । उनले प्रधानमन्त्रीको साथमा गएर नफर्कनको नामबारे संसद्लाई जानकारी गराउनसमेत चुनौती दिए ।

यस्तै, अखिलका पूर्वअध्यक्ष समिक बडालले सोविता गौतमलाई झुटा आरोपको चुरोट सल्काउनु बन्द गर्न चेतावनी दिएका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लेखेका छन्, ‘स्पेनबाट को फर्केन ? नामसहित आओस्। अब झुटा आरोपको चुरोट सल्काउनु बन्द गर। रास्वपाका ‘नैतिकता’का ठेकेदारहरू,

पहिला आफैंलाई हेर, सभापति स्वयं भिजिट भिसामा अमेरिका पसेर लुकेका इतिहास झ्यालबाट च्याउने हिम्मत गर। कुन केमा थुक्यो, आफ्नै मुखमा छिटा परेको थाहा छैन, अरूका श्रीमान–श्रीमतीको ब्यङ्ग्य गर्नेलाई सम्झाइदेऊ, पहिला आफ्नो चरित्रको ऐना सफा गर, अनि मात्र अरूलाई देखाउने आँखा खोल।’