कुलमान घिसिङ र युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री बीच विशेष भेटवार्ता


अबुधाबी, युएई l संयुक्त अरब इमिरेट्स (युएई) का लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीको विशेष निमन्त्रणामा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ युएईस्थित नेपाली राजदूतावासमा पुग्नुभएको छ।

भेटवार्ताको क्रममा नेपाली इन्जिनियरहरूको भूमिकाबारे गहिरो छलफल भएको जनाइएको छ। कुलमान घिसिङले युएईमा कार्यरत नेपाली इन्जिनियरहरूको प्रशंसनीय योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस्ता सीपयुक्त जनशक्तिको उपयोग नेपालकै ऊर्जा पूर्वाधार निर्माणमा समेत हुनसक्ने कुरामा जोड दिनुभयो।

राजदूत तेजबहादुर क्षेत्रीले युएईमा रहेका दक्ष नेपालीहरूको क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन राजदूतावास क्रियाशील रहेको उल्लेख गर्दै, यस्ता भेटघाटले दुई देशबीचको प्राविधिक तथा आर्थिक सहकार्यमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा युएईमा कार्यरत नेपाली प्राविधिक, व्यवसायी तथा समुदाय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।