प्रधानमन्त्री ओलीद्वारा रसुवाको स्थलगत अवलोकन, क्षतिको विवरणबारे गहिरो चासो


काठमान्डौ- प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरेका छन्। बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा उनले स्थानीय प्रशासन, जनप्रतिनिधि तथा पीडितहरूसँग प्रत्यक्ष संवाद गर्दै उद्धार र राहतको अवस्थाबारे जानकारी लिएका हुन्।

बाढीबाट नेपाल–चीन सीमानाको रसुवागढी भन्सारको सुक्खा बन्दरगाह, बगाइएका कन्टेनरहरू र अन्य पूर्वाधारमा भएको क्षति देखेर उनले गहिरो चिन्ता व्यक्त गरे। बेपत्ता भएकाहरूको खोजी र राहतको कार्य युद्धस्तरमा अघि बढाउन उनले सम्बद्ध निकायहरूलाई निर्देशन दिएका छन्।

प्रधानमन्त्री ओलीको नेतृत्वमा गएको उच्चस्तरीय निरीक्षण टोलीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा मन्त्री दीपक खड्का, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति र सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए। साथै नेपालका लागि चिनियाँ राजदूत चेन सोङ समेत टोलीमा सहभागी थिए, जसले सीमापार सहकार्यको सन्देश दिएको छ।

सचिवालयद्वारा सार्वजनिक गरिएका तस्वीरहरूमा प्रधानमन्त्री ओली बाढीपीडित क्षेत्रको स्थलगत निरीक्षण गर्दै, सुरक्षा अधिकारीहरू र स्थानीयसँग सम्वाद गरिरहेको दृश्य देखिन्छ।