अन्तर्घातको आरोपमा अनुशासनका डण्डाले कांग्रेसमा बबन्डर, शेखर समूह जुट्यो छलफलमा


काठमाडौं । तीन वर्षअघिको स्थानीय तह, साढे दुई वर्षअघिको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा अन्तर्घात र असहयोग गरेको आरोपमा कांग्रेसको अनुशासन आयोगले डेढ दर्जन नेतालाई कारबाही गरेको विषयले बबन्डर मच्चिएको छ । कारबाह्ीमा परेका अधिकांश नेता कार्यकर्ता संस्थापनइतर समूहका छन् ।

आनन्दप्रसाद ढुंगाना संयोजक रहेको आयोगले बहुमतको नाममा आफ्नो पक्षका नेता कार्यकर्तालाई छानीछानी कारबाही गरेपछि शेखर समूह आक्रोशित बनेको छ । बिहीबार बिहानैदेखि इतर समूहको बैठक शेखर कोइरालाको सचिवालयमा बसिरहेको छ। कोइरालाको विशालनगरस्थित सचिवालयमा बसिरहेको बैठकमा पार्टीको अनुशासन समितिले बुधबार गरेको अनुशासनको कारबाहीबारे समूहको धारणा बनाउने छ ।

बैठकमा शेखरसहित उपसभापति धनराज गुरुङ सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, नेताहरु बलबहादुर केसी, सञ्जय गौतमलगायत सहभागी रहेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। कांग्रेसको अनुशासन समितिले बुधबार लुम्बिनी प्रदेशका पार्टी महामन्त्री विक्रम खनाल पूर्वमन्त्री कुमार खड्का, खोटाङ कांग्रेस सभापति विष्णुकुमार राई, तेह्रथुमका महासमिति सदस्य तुलसी सुब्बासहितका २३ जनालाई अनुशासनको कारबाही गरेको थियो।

संस्थापन पक्षले बहुमतको आधारमा आफ्नो समूहका नेतालाई मात्रै कारबाही गरेको भन्दै इतर समूह असन्तुष्ट छ। अनुशासन समितिमा संस्थापन पक्षका संयोजक ढुंगाना, ईश्वरी न्यौपाने र ध्रुव वाग्लेसहित तीनजना र इतर समूहका राजीव कोइराला र सञ्जय गौतम गरी दुईजना छन्।