काठमाडौं – पछिल्लो समय अभिनेत्री मनिषा कोइराला त्यति चर्चामा छैनन् । केही अघिसम्म नेपालमा राजसंस्था पुनःस्थापना हुनुपर्ने भन्दै वकालत गर्ने मनिषा लामो समयदेखि नेपालमै छिन् । एक वर्षअघिसम्म मुम्बईमा रहेकी मनिषा वेबसिरिज ‘हिरामण्डी’ बाट पुनः बलिउडमा चर्चामा आइन् । उनले ‘हिरामण्डी’ बाट राष्ट्रिय पुरस्कारसमेत जितिन् ।
उम्दा अभिनय र सुन्दर अनुहारका कारण मनिषाले धेरै समय बलिउडमा राज गरिन् । सन् १९९० को दशमा ‘सौदागर’ चलचित्र खेलेर बलिउड छिरेकी मनिषामा अब भने बुढ्यौली देखिएको छ । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न वनस्थली पुगेकी मनिषाको अनुहारमा प्रस्टसँग बुढ्यौली देखिएको हो । उनमा कुनै उत्साह देखिन्नथ्यो ।
हस्ताक्षर गरिसकेपछि मनिषाले रविमाथि अन्याय भएको टिप्पणी गरिन् । ‘आमनागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ, यो सबैको बुझाइ रहेको छ, त्यसैको लागि म आएको हुँ,’ हस्ताक्षरपछि बाहिरिने क्रममा उनले छोटो प्रतिक्रिया दिँदै भनिन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका रवि अहिले भैरहवास्थित कारागारमा छन् ।
सेतो रंगको कुर्ता सुरुवालमा रास्वपा पार्टी कार्यालय पुगेकी मनिषाको अनुहारमा खासै चमक थिएन । उनका कपाल सेतै देखिएका थिए । मनिषा क्यान्सर सर्भाइभर हुन् । क्यान्सर सर्भाइभर भएकाले पनि मनिषाको अनुहारमा यति छिट्टै चाउरीपना देखिएको हो । मनिषा उमेरले ५५ वर्ष कटिसकेकी छन् ।
प्रतिक्रिया