काठमाडौं – काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह बालेनले कार्यपालिका बैठक बोलाएका छन्। उनले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।
बालेनको सचिवालयका अनुसार त्यसअघि १२ बजे बजेट स्रोत अनुमान र सीमा निर्धारण समितिको बैठक बस्नेछ । केही दिनअघि नै स्रोत अनुमान र सीमा निर्धारण समितिले बजेटका सम्बन्धमा योजना माग गरेको थियो ।
बालेनले कार्यपालिका बैठक नै नबोलाएकाले यस वर्ष बजेट र नीति तथा कार्यक्रम आउनेमा आशंका उत्पन्न भएको थियो । कानुनतः स्थानीय तहले असार १० भित्र बजेट र नीति तथा कार्यक्रम ल्याइसक्नुपर्ने हुन्छ । त्यस्तै, असार ३० भित्र बजेट पास भइसक्नुपर्ने बाध्यकारी व्यवस्था छ । चालू आर्थिक वर्ष सकिनै लाग्दा पनि काठमाडौं महानगरमा बजेट आउने छाँटकाँट थिएन ।
खासगरी प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको बेमेलका कारण बालेनले कार्यपालिका बैठक बोलाउन अनिच्छुक देखिएका हुन् । काठमाडौं भ्युटावरको नक्सा पास प्रकरणमा मेयर र प्रमुख प्रशासकीय अधिकृत गुरागाईबीच विवाद भएको थियो । गुरागाईले १९ तल्लासम्मको नक्सा पास गरेपछि बालेनले अनियमितताको आरोप लगाउँदै छानबिन समिति गठन गरेका थिए । त्यही विषयले बालेनको उपप्रमुख सुनिता डंगोलसहित प्रायः सबै वडाध्यक्षसँग सम्बन्ध बिग्रेको छ ।
निर्धारित समयमै बजेट नआएपछि आलोचना खेप्दै आएका बालेनले यसबीचमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका थिए । यिनै दुई भेटघाटपछि बालेन कार्यपालिका बैठक बोलाएर बजेट ल्याउने निर्णयमा पुगेको देखिन्छ ।
प्रतिक्रिया