काठमाडौं – झापाको दमक नगरपालिका–३ मा रहेको मा १८ तले भ्युटावर निर्माणमा संगठित भ्रष्टाचार भएको आरोप लागेको छ । स्थानीय पत्रकार अबिन मेयाङ्ग्वोले परियोजनासँग सम्बन्धित सम्झौता सार्वजनिक गर्नुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी हालेका छन् ।
चार बिघा १८ कठ्ठा ७ धुर जग्गामा निर्मित भ्यूटावर तत्कालीन ओली सरकारको गौरवको योजनाको रूपमा अघि बढाइएको थियो । २०७३ सालमा स्थानीय विकास र पर्यटन प्रवर्द्धनका लागि भन्दै माँ पञ्चकन्य हाउजिङ प्रा।लि।लाई उक्त जग्गा नगरपालिकाले उपलब्ध गराएको थियो । तर, हाल कम्पनीले भ्यू टावर निर्माण भएको दुई बिघा जग्गा सापटीको रूपमा फिर्ता गरेको र बाँकी २५ कठ्ठा जग्गाको मौद्रिक क्षतिपूर्ति माग्दै स्वामित्व दाबी गरेपछि नयाँ विवाद सिर्जना भएको छ । निर्माणअघि प्रतिकठ्ठा अधिकतम ३ लाख पर्ने जग्गाको मूल्य कम्पनीले अहिले ५० लाखको दरले क्षतिपूर्ति माग गरेको छ ।
मेयाङ्ग्वोले अख्तियारमा उजुरी दर्ता गराउँदै नगरपालिका र कम्पनीबीचको सम्झौता नभेटिएको र कम्पनीको क्षतिपूर्ति मागले सार्वजनिक सम्पत्ति गोप्य रूपमा व्यक्तिगत लाभका लागि प्रयोग भएको संकेत गरेको बताए । उनले लामो समयदेखि पारदर्शिताको माग गर्दा पनि नगरपालिकाले कुनै कागजात उपलब्ध गराउन नसकेको बताए । जनप्रतिनिधि नभएको बेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई जग्गा दियो भन्ने कुरा अहिलेसम्म खुलेको छैन ।
प्रतिक्रिया