एमालेमा देखिएको किचलोले योगेश भट्टराई दिक्क


काठमाडौं – पछिल्लो समय पार्टीभित्र देखिएको किचलोले एमाले सचिव योगेश भट्टराईले दिक्क मानेका छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेमा सक्रिय हुने बताएपछि नेताहरूबीच घोचपेच सुरु भएको छ । पूर्वराष्ट्रपति भण्डारी र एमाले संस्थापनका नेताहरू विभाजित भएका छन् ।

एकले अर्कोलाई घोचपेच गर्न थालेपछि एमालेका सचिव योगेश भट्टराईले च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने कार्य बन्द गर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमा लेख्दै सचिव भट्टराईले यस्तो आग्रह गरेका हुन्। उनले आपसमा विमर्श गरेर सहकार्य मार्फत समाधान खोज्नुपर्ने बताए। यस्तै, जबजको मर्म पनि यही नै भएकाले राष्ट्र, जनता र एमाले सबै एक ठाउँ उभिने आधार भएको उनको भनाइ छ।

‘च्यासललाई ललकार्ने, च्यासलबाट ललकार्ने, कृपया यो तरिका बन्द गरौँ, बसौं, आपसमा विमर्श गरौँ, सहकार्यमार्फत समाधान खोजौँ, जबजको मर्म पनि यही हो, राष्ट्र, जनता र एमाले, हामी सबै एक ठाउँ उभिने आधार,’ उनले भनेका छन् । पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष बन्नकै लागि आफू धेरै अघि बढिसकेको बताएकी छन् ।