काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले शुक्रबार आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिलाई अन्तिम रूप दिन अहिले राष्ट्र बैंक सञ्चालक समितिमा बैठक बसिरहेको छ । बैठक टुंगिएपछि दिउँसो मौद्रिक नीति सार्वजनिक गरिनेछ ।
अघिल्ला वर्षहरूमा प्रायः साउन पहिलो सातादेखि मौद्रिक नीति आउने गरेकोमा यस वर्ष नयाँ गभर्नर पौडेलले आफ्नो पहिलो नीति असारभित्रै ल्याउन लागेका हुन् ।
वित्त नीति (बजेट) साउन १ देखि कार्यान्वयनमा आउने भएकाले मौद्रिक नीतिलाई पनि सोही मितिदेखि कार्यान्वयनमा ल्याउन खोजिएको हो । नयाँ मौद्रिक नीतिमा गभर्नर पौडेल निकै उदार बन्ने सम्भावना देखिएको छ ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता र चार वर्ष यताकै न्यून ब्याजदर हुँदा पनि अपेक्षित रूपमा कर्जा प्रवाह हुन सकेको छैन । आर्थिक गतिविधि चलायमान बन्न सकेको छैन । ऋणीहरुको ऋण तिर्ने क्षमतामा ह्रास आइरहेको छ । ऋणीले समयमै साँवा ब्याज तिर्न नसक्दा बैंक तथा वित्तीय संस्थाको पनि खराब कर्जा बढिरहेको छ । यस्तो अवस्थामा ऋणी र बैंक तथा वित्तीय संस्था दुवै पक्षलाई राहत हुने गरी मौद्रिक नीति खुकुलो गर्ने राष्ट्र बैंकको तयारी छ ।
बढिरहेको खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना, कालोसूचीमा पर्ने व्यवस्थामा ललिचो, साना ऋणीलाई सुविधा, चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा लचिलो, कर्जाको वर्गीकरणसम्बन्धी विद्यमान व्यवस्था परिमार्जनलगायत व्यवस्था मौद्रिक नीतिमा गरिने स्रोतले बताएको छ ।
प्रतिक्रिया