काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आगामी महाधिवेशनबाट आफू एमाले अध्यक्ष बन्ने दाबी गरेकी छन् । इमेज च्यानल टेलिभिजनका लागि जगदीश खरेलसँगको अन्तर्वार्तामा उनले एमाले अध्यक्षको अनौपचारिक दाबी गरेकी हुन् । उनले ‘भावी प्रधानमन्त्री’का रुपमा पनि आफू खुला रहेको जनाऊ दिएकी छिन् ।
पार्टीको सर्वोच्च नेतृत्व अध्यक्ष पद सर्वसम्मत चुनिनुपर्ने र आफूलाई केपी ओलीले साथ दिने विश्वाससमेत भण्डारीले व्यक्ति गरेकी छिन् । पत्रकार खरेलले सोधेको ‘तपाई अब एमालेको अध्यक्ष बन्ने हो ?’ भन्ने प्रश्नमा भण्डारीको जवाफ छ, ‘तपाईको बुझाइमा सत्यता छ, तर पार्टीको ११औं महाधिवेशन तोकिएको छैन । त्यसैले म अहिले नै कुन पदमा, के भनेर नभनौं । तर, यो कुरा त सार्वजनिक बहसकै एजेण्डा भइसक्यो नि । यति अनुभव लिएर आइसकेपछि मैले लिने जिम्मेवारी भनेको त तपाईहरुले सोचेको त्यही लाइनतिरै जान्छ । एकदम । यसमा त कुनै सन्देह छ र ?’
एमालेको सदस्यता नवीकरण गरेकी भण्डारीले राज्यबाट पाउने सेवासुविधा त्यागेका पत्र गृह मन्त्रालय पठाएकी थिइन् । तर उनले अहिलेसम्म यसरी खुला रूपमा बोलेकी थिइनन् । पार्टी अध्यक्षमा फेरि पनि ओली नै दाहोरिने चर्चा छ नि भन्ने अर्को प्रश्नमा भण्डारी भन्छिन्, ‘एकजना व्यक्तिले सधैं पदीय जिम्मेवारी धानिरहन सकिने कुरा आउँदैन । हामीले आफ्नो टिमभित्र कसै न कसैलाई जिम्मेवारी दिनैपर्छ । त्यसमा पनि हाम्रो पार्टीमा त अलिकति लोकतान्त्रिक अभ्यासहरु चलेको छ ।’
उनी थप्छिन्, ‘केपी ओली दुईपटक अध्यक्ष भइसक्नुभएको छ, त्यो त परिस्थितिले, पार्टी विभाजन भएकोले माधव नेपालहरु छाडेर हिँड्नभयो, त्यसो हुनाले अध्यक्ष हुनुभयो । तर, मलाई लाग्छ उहाँ अरु नेताहरुले भने भन्दैमा त्यसरी दोहोर्याउने, तेहर्याउने, मैले चिनेको केपी ओली त्यस्तो होइन ।’ सार्वजनिक रूपमै विद्याले एमाले अध्यक्षसँगै भावी प्रधानमन्त्रीको दाबी गर्नुलाई अर्थपूर्ण मानिएको छ ।
प्रतिक्रिया