‘जारी २’लाई असोज ३ गतेबाट रिलिज गर्ने तयारी



फिल्म ‘जारी २’लाई संविधान सभाको दिन पारेर असोज ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको फिल्मको हाल पोष्ट प्रोडक्सनको काम धमाधम चलिरहेको छ । यो फिल्मको निर्माणपक्षले भने अहिलेसम्म प्रदर्शन मिति तय गरेको छैन । तर, विशेष श्रोतका अनुसार असोजको ३ गते फिल्म रिलिज गर्ने तयारी गरिएको छ ।

फूलपातीमा ३ वटा नेपाली फिल्म रिलिज पक्का भइसकेको छ । टिकाको दिनमा साउथ फिल्म ‘कान्तरा २’ आउने पक्का भइसकेको छ । यसैले, ‘जारी २’लाई संविधान सभाको बिदाको अवसर पारेर रिलिज गर्ने र घटस्थापनादेखि फूलपातीमा समेत हलमा राम्रै स्थान दिने तयारी यसको टिमको छ ।

रामबाबु गुरुङ निर्माता रहेको यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतका कलाकारहरुको अभिनय छ । फिल्मको छायांकन पाँचथरमा गरिएको हो ।

‘जारी’ले बक्स अफिसमा १७ करोड माथिको ग्रस कलेक्शन गरेको थियो । असोजको ३ गते फिल्म ‘सोल्टिनी’ पनि रिलिज हुने पक्का भइसकेको छ ।