काठमाडौं – प्रहरीले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई नियन्त्रणमा लिएको छ । ‘श्री ५ महाराजधिराज’ लेखिएको बहानामा पाठकलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले संविधानले नचिनेको शैलीमा विज्ञप्ति जारी गरेको र फेसबुकमा त्यही भाषा प्रयोग गरेको विषयमा सोधपुछ गर्न उनलाई भद्रकालीस्थित परिसरमा बोलाएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार पाठकले जारी गरेका वक्तव्यहरूमा ‘श्री ५ महाराजधिराज’ भन्ने सम्बोधन प्रयोग हुँदै आएकोले त्यसबारे बुझ्न बोलाइएको हो ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले पाठकलाई सोधपुछको निमित्त प्रहरीले बोलाउनु आश्चर्यजनक र हास्यास्पद भएको बताएका छन् । ‘यो सरकारको संकिर्ण मानसिकताको द्योतक हो। श्री ५ ज्ञानेन्द्र नेपालका राजा हुन्, प्राविधिक रूपमा अहिले राजतन्त्र नरहे पनि वा संविधानले नचिने पनि उनी पछि अरु कोही राजा नभएकाले उनलाई श्री ५ ले सम्बोधन गर्नु स्वाभाविक र मर्यादा पनि हो,’ थापाले भनेका छन् ।
प्रतिक्रिया