राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हस्ताक्षर अभियानमा १५ लाख हस्ताक्षर, ३७ लाख आर्थिक सहयोग


काठमाडौं | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चालन गरेको दुई साता लामो हस्ताक्षर अभियानले हालसम्म उल्लेखनीय समर्थन बटुलेको छ। पार्टीका अनुसार हालसम्म १५ लाखभन्दा बढी नागरिकले हस्ताक्षरमार्फत समर्थन जनाएका छन् भने चन्दा संकलनतर्फ ३७ लाख रुपैयाँभन्दा बढी रकम जुटिसकेको छ।

“राजनीतिक प्रतिशोधको विरुद्ध जनमत” नारासहित सञ्चालन गरिएको अभियानको उद्देश्य पार्टीका सभापति रवि लामिछानेविरुद्ध गरिएको कथित सत्तामोह प्रेरित कारबाहीको विरुद्ध जनदबाब सिर्जना गर्नु रहेको बताइएको छ। देश-विदेशका विभिन्न स्थानमा रहेका समर्थकहरूबाट अभियानमा ठूलो उत्साहका साथ सहभागिता भइरहेको जनाएको छ।

माननीय तथा पार्टीका प्रवक्ता मनिष झाले बातए अनुसार सो हस्ताक्षर र चन्दा अभियानले नेपाली जनताले वैकल्पिक राजनीति, पारदर्शिता र उत्तरदायित्वप्रतिको अपेक्षा अझ बलियो बनाएको प्रमाणित गरेको छ।

पार्टीले हस्ताक्षरहरूको दस्तावेजीकरण तथा चन्दाको पारदर्शी विवरण सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी पनि दिएको छ।