गैरआवासीय नेपाली संघ कतार र नेपाल आदिवासी जनजाति महासंघ संयुक्त आयोजनामा कुलमान घिसिङलाई भव्य स्वागत


कतार, दोहा l गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार र नेपाल आदिवासी जनजाति महासंघ कतारको संयुक्त आयोजनामा ‘उज्यालो अभियान’ का प्रतीक, नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको सम्मानमा एक विशेष कार्यक्रम ‘उज्यालो संवाद’ सम्पन्न भएको छ।

कार्यक्रमको उद्देश्य घिसिङको नेतृत्वमा सम्पन्न ऊर्जा क्षेत्रको सफल सुधार, लोडसेडिङ अन्त्य र भविष्यका सम्भाव्य ऊर्जा नीतिहरूका बारेमा प्रत्यक्ष संवाद गर्नु रहेको थियो। उक्त कार्यक्रममा नेपाली समुदायका अगुवाहरू, सामाजिक अभियन्ता, इञ्जिनियरहरू तथा कतारमा कार्यरत विभिन्न पेशागत संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कुलमान घिसिङले कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा क्षेत्रको सुधारमा आइपरेका चुनौती, आफूले अवलम्बन गरेको नेतृत्वदायी दृष्टिकोण, तथा उज्यालो नेपाल निर्माणमा आम नागरिकको भूमिकाबारे धारणा राखे। साथै उनले प्रवासमा रहेका नेपालीहरूलाई देश निर्माणमा योगदान दिन आग्रह गर्दै आगामी दिनमा आफूले अझ प्रभावकारी रूपमा काम गर्न चाहेको जनाए।

कार्यक्रमले सम्पूर्ण नेपाली समुदायमा ऊर्जा, पारदर्शिता र नेतृत्वका मूल्यहरू प्रति आशा र प्रेरणा थपेको आयोजकहरूले बताएका छन्।