काठमाडौं – राजसंस्था फर्काउने अभियानमा लागेको राप्रपा आफैं अन्तरकलहमा फसेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन विभाग प्रमुखमा पार्टी उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत र सगुन लावतीलाई पार्टी प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेपछि विवाद चुलिएको हो ।
यसअघि अनुशासन समितिको संयोजक रहेका नवराज सुवेदी र प्रवक्ताबाट हटाइएका लावतीले अध्यक्ष लिङ्देनको निर्णयविरुद्ध आइतबार निर्वाचन आयोग जाने तयारी गरेका छन् । राजसंस्था पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिका संयोजकका रूपमा ४ चैतदेखि सक्रिय भएका सुवेदीले त्यही दिन पार्टीबाट अलग रहेको घोषणा गरेका थिए । सुवेदीले पार्टी छाडिनसकेको र अध्यक्ष लिङ्देनले मनोमानी निर्णय गरेको असन्तुष्ट पक्षको आरोप छ । असन्तुष्ट समूहहरूको संयोजन पार्टी महामन्त्री डा. धवलशमशेर राणाले गरेका छन् ।
सुवेदीको समर्थनमा र विवादास्पद व्यापारी दुर्गा प्रसाईंको अगुवाइमा १५ चैतमा तीनकुनेमा भएको घटनापछि पार्टीको छविमा धब्बा लागेको अध्यक्ष लिङ्देन पक्षको निष्कर्ष छ । जिम्मेवारीबाट अलग भएका सुवेदीले विगतमा राप्रपाको अनुशासन विभागको नेतृत्व गरेका थिए । उनले पार्टीबाट अलग भएर जनआन्दोलन समितिको संयोजक भएसँगै रिक्त भएको पदमा उपाध्यक्ष रोशन कार्कीलाई मनोनीत गरिएको थियो । जसलाई बदर गर्नुपर्ने सुवेदीको माग छ ।
राप्रपा अध्यक्ष लिङ्देनले सुवेदी नेतृत्वमा गठित ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ को गठनलाई राप्रपा कमजोर पार्ने षड्यन्त्रका रूपमा लिँदै आएका थिए । राप्रपा महामन्त्री एवं सांसद राणाले अध्यक्ष लिङ्देनविरुद्ध पार्टीमा आवाज उठाउँदै आएका छन् । पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री कुन्ति शाहीलगायतले उनलाई साथ दिएका छन् ।
प्रतिक्रिया