दीपेन्द्र, सामीप्य र श्रीधरको सहकार्यमा ‘मुनामदनको ब्रेकअप’ निर्माणको घोषणा



फिल्म ‘गोपी’मा एकसाथ सहकार्य गरेका निर्देशक दीपेन्द्र लामा, लेखक सामीप्यराज तिमल्सेना र संचारकर्मी श्रीधर पौडेलबिच नयाँ फिल्ममा फेरि सहकार्य हुने भएको छ । दीपेन्द्र लामाको निर्देशन, सामीप्यराज तिमल्सेनाको लेखन र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्म ‘मुनामदनको ब्रेकअप’ निर्माणको घोषणा गरिएको छ ।

यो फिल्मका लागि नायक राज कटुवाल पनि फाइनल भएका छन् । अन्य कलाकारहरु भने अहिले छनोट नगरिएको निर्माणपक्षले बताएको छ ।

फिल्मका निर्देशक लामा भन्छन्–‘फिल्मको पटकथा सुहाउँदो भएकाले कटुवाललाई अनुवन्धित गरेका हौं, बाँकी कलाकार पनि कथा र चरित्र अनुकूल हुने गरि छनोट गर्नेछौं ।’

लामाको निर्देशनमा ‘घामपानी, गोपि, छ माया छपक्कै, २ नम्बरी, नांगो गाउँ, दुखी आत्मा’ दर्शकमाझ आइसकेका छन् । ‘मुनामदनको ब्रेकअप’लाई मनोरञ्जनात्मक बनाउने तयारी दीपेन्द्रको छ । फिल्मका लेखक सामिप्यराज तिमल्सेनाले ग्रामीण परिवेशको फरक स्वादको प्रेमकथा यो फिल्ममा हेर्न पाइने बताए ।

अहिले हलसम्म दर्शकलाई तान्न निकै गाह्रो भएको भन्दै यो फिल्मको पटकथामा निक्कै नै मिहिनेत गरिएको तिमल्सेनाको भनाई छ । फिल्मका कार्यकारी निर्माता पौडेलले कास्कीको ग्रामीण भेगमा फिल्मको छायांकन हुने जानकारी दिएका छन् । राम्रो फिल्म बनाउनका लागि धैर्यताका साथ काम गर्ने पौडेलको भनाई छ ।