काठमाडौं – सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एआईको दुरुपयोग गरेर आफ्नो भ्वाइस निकाली ७८ लाख रुपैयाँको डिल गरिएको दाबी गरेका छन् । भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति गर्न एक महिला बिचौलियासँग मन्त्री गुप्ताले ७८ लाख डिल गरेको समाचार आएको थियो । मन्त्री र महिलाबीचको संवादको अडियो सामाजिक सञ्जालमा भाइरल छ ।
यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिरहेको छ । साथै, यसबारे समाचार आएपछि मन्त्री गुप्तालाई पदबाट हटाउन एमाले र कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी ओलीमाथि दबाब बढाएका छन् । यही बीचमा गुप्ताले आइतबार सामाजिक सञ्जालमार्फत आफूमाथि लागेको आरोप पुष्टि गर्न चुनौती दिएका हुन् ।
उनले लेखेका छन्–
प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौं ।
केही दिनअघिदेखि मसंग जोडिएर सिलसिलेबार रुपमा सरुवा, नियुक्तिलगायतमा घुस बार्गेनिङ, रकम लिएको जस्ता प्रायोजित समाचारहरु केही मिडियाहरुमा आएका छन् जुन मेरो लागि गम्भीर छन् ।
अब तथ्य खोजौं र प्रमाणित गरौं जसको उत्तर यो समाज र मलाई कसले दिन्छ ?
१. बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाव दिने को हुन् ?
२. नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन ?
३. नोटको नम्बर सहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? मलाई थाहा छैन । कुन अवस्थामा छ ?
४. प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ?
५. सूचना प्रविधि (एआई) को दुरुपयोग गरी निकालिएको मेरो आवाज भनिएको छ कसले पुष्टि गर्ने ? जुन त्यो मेरो आवाज होइन ।
यी अनुत्तरित प्रश्नको खोजी गरौं, अनि मात्र सत्य र निष्ठाको पत्रकारिताको जग बलियो बनाउन लागौं ।
म राज्यको चौथो अंग पत्रकारिताको सधै सम्मान गर्ने व्यक्ति हुँ ।











प्रतिक्रिया