फिल्म ‘मोहर’को टिम प्रचारमा आक्रामक रुपमा लागिपरेको छ । साउनको २३ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको प्रचारका लागि नायक पल शाह र नायिका बेनिशा हमाल कुँदिरहेका छन् । फिल्ममा समावेश गीतसंगीतले पनि दर्शकको साथ पाइरहेको समयमा उनीहरु फिल्मबाट अझै उत्साहित छन् ।
यसैबिच, पल र बेनिशा पश्चिम नेपालको बुटवल पुगेका छन् । जहाँ, उनीहरुले दर्शकसँग फिल्मको बिषयमा साक्षात्कार गरेका छन् ।
फिल्मका लेखक तथा निर्देशक ओम प्रतिक, निर्माता चुम्बन जंग शाही, फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरेको साथमा नायक पल शाह र नायिका बेनिशा हमाल बुटवलका क्याम्पस र स्कुलमा पुगेका हुन् ।
दर्शकसँग साक्षात्कार गर्ने क्रममा नायक पलले ‘मोहर’ सबै परिवारले हेर्ने कथा भएको बताए । कार्यक्रममा पलले फ्यानहरुसँग साक्षात्कार पनि गरे । पलले भने–‘एउटा कलाकारले कमाउने भनेकै दर्शकको माया हो । यो माया सजिलै कमाउन सकिदैन ।’
फिल्मको टिमले कलेज, स्कुलसँगै रोट्राक्टमा आवद्ध विभिन्न व्यक्तिहरुसँग पनि साक्षात्कार गरेको थियो ।
पल र बेनिशालाई भेट्न पाउँदा दर्शक उत्साहित देखिए । उनीहरुले, ‘मोहर’को प्रतिक्षा व्यग्र रुपमा गरिरहेको बताएका थिए ।
देउकी प्रथामा आधारित रहेर तयार पारिएको यो फिल्ममा पल र बेनिशाको साथमा नीति शाह, अर्जुन जंग शाही, रवीन्द्र झा लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्म मेकर्सको व्यानरमा निर्माण भएको यो फिल्मप्रति दर्शकको उत्साह पनि बढेको छ । यसैले, फिल्मको व्यापार सुखद हुने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया