अराजक पार्टीहरूले स्पेनमा मान्छे छाडेर आएको घटिया प्रचार गरे : प्रधानमन्त्री


काठमाडौं – प्रधानमन्त्री केपी ओलीले अराजक पार्टी र समूहले स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको आरोप लगाएका छन् ।

झापाको दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गर्दै उनले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरू कुरा नपाएर घटिया प्रचार गरेको बताए । उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी पनि गरे ।

‘म स्पेन गएको थिएँ । त्यहाँ हाम्रो भूमिका असाध्यै राम्रो भयो त्यो भूमिका सहन नसकेर अपोजिसन पार्टी र केही अराजकतावादी पार्टीहरूले मान्छे छाडेर आयो भन्ने जस्ता वाहियात कुरा गरे । त्यो हुन सक्ने कुरा हो ? प्रमाणित गर्न सकिने कुरा हो ? प्रमाण भनेर कराएका छन् । जहिले पनि झूट बोलेको छ, झुट बालेको छ । यस्ता कुरा कति दिन टिक्छ ? यस्तो राजनीति नगर्न म सबैलाई सुझाव दिन चाहन्छु,’ ओलीले भने ।

विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको मदनडाँगी–ताराबारी–डिपु सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४।८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।

प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे ।