काठमाडौंलाई स्मार्ट सिटीदेखि फिल्म सिटीको विकास गर्ने बालेनको घोषणा


काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । आइतबार मेयर बालेन्द्र साह (बालेन) ले नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

१७ औं नगर सभामा मेयर बालेनले संस्कृति र जीवनशैलीलाई प्रविधिसँग जोड्दै काठमाडौँलाई डिजिटल युगको ‘स्मार्ट सिटी’ तथा अन्तर्राष्ट्रियस्तरको गन्तव्यका रूपमा विकास गर्ने योजना सार्वजनिक गरेका छन् ।

महानगरलाई आईटी हबका रूपमा स्थापित गर्न ‘को–वर्किङ स्पेस’, ‘डिजिटल नोम्याड’ मैत्री पूर्वाधार र बहुभाषिक सूचना प्रणाली निर्माण गरिने घोषणा गरे । यसले काठमाडौँलाई प्रविधि र नवप्रवर्तनको केन्द्र बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरे ।

किफायती जीवनशैली प्रवर्द्धन गर्दै महानगरलाई ‘फिल्म सिटी’ का रूपमा विकास गर्ने, धार्मिक तथा आध्यात्मिक पर्यटनलाई बढावा दिने योजना पनि अघि सारिएको छ । बालेनले ‘लिभ, वर्क एन्ड एक्सप्लोर काठमाडौँ’ जस्ता अभियानमार्फत महानगरलाई बस्न, काम गर्न र घुम्नका लागि आकर्षक केन्द्र बनाइने बताए ।

मेयर बालेनले नगर सभाको सदस्य सचिव रहेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई सम्बोधन गरेनन्। उनले सम्पूर्ण कर्मचारी भनेर सम्बोधन गरेका छन्।