गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड अब एनपीएस–एनसीएस तथा नेपालपे कार्ड प्रणालीमा आबद्ध


काठमाडौं l गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेड अब नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालन गरिएका राष्ट्रिय भुक्तानी प्रणाली एनपीएस–एनसीएस तथा नेपालपे कार्ड मा आबद्ध भएको छ।

बैंक तथा वित्तीय क्षेत्रका लागि राष्ट्रिय स्तरको कार्ड स्विच प्रणालीमा सहभागी बन्ने उद्देश्यले दुई संस्थाबीच सम्झौता सम्पन्न भएको हो। उक्त सम्झौतापत्रमा गुहेश्वरी मर्चेन्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत श्री तोयराज अधिकारी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले हस्ताक्षर गर्नुभएको हो।

एनसीएचएलले हालै एनपीएस–एनसीएस पूर्वाधारको तयारी सम्पन्न भएको घोषणा गर्दै सबै बैंक तथा वित्तीय संस्थाहरुलाई नेपालकै पहिलो डोमेस्टिक कार्ड नेपालपे कार्ड को सदस्य बन्न आह्वान गरेपछि यो साझेदारी प्रक्रिया अघि बढाइएको हो।

सम्झौताअनुसार अब गुहेश्वरी मर्चेन्ट फाइनान्सले आफ्ना ग्राहकहरूलाई नेपालपे कार्ड इस्यु गर्न सक्नेछ र सो कार्डमार्फत भुक्तानी सेवा प्रवाह गर्न सक्ने अधिकार प्राप्त गर्नेछ। यस प्रणालीमार्फत ग्राहकहरूले सुरक्षित, सहज र कम लागतमा डिजिटल भुक्तानी सुविधा प्राप्त गर्नेछन्।

नेपालका अग्रणी फाइनान्सहरूमध्ये एक गुहेश्वरी मर्चेन्ट फाइनान्सले देशभर २३ शाखा, ४ विस्तारित काउन्टर, एटीएम सेवा, सेफ डिपोजिट लकर, डिम्याट खाता, मोबाइल बैंकिङ्ग लगायतका सेवामार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। नेपालपे कार्ड प्रणालीमा आबद्धतासँगै फाइनान्सले डिजिटल भुक्तानी क्षेत्रमा थप मजबुत उपस्थिति बनाउने अपेक्षा गरिएको छ।