७८ लाख डिल प्रकरण : सामान्य प्रशासनमन्त्री गुप्तालाई आजै हटाउने प्रधानमन्त्रीको तयारी


काठमाडौं । ७८ लाख डिल प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा नदिए उनलाई पदबाट हटाउने तयारी भएको छ । घुस ‘डिल प्रकरणको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओली उनलाई पदमुक्त गर्ने तयारीमा रहेको बालुवाटार स्रोतले जनाएको छ।

प्रधानमन्त्री ओलीले अडियो प्रकरणबारे विस्तृत जानकारी लिँदै गरेको र गुप्तालाई राजीनामा दिन सुझाव दिइने, अन्यथा पदबाट बर्खास्त गरिने तयारी भएको स्रोतको भनाइ छ। दुई दिन गृहजिल्लाको बसाई सकेर ओली आइतबार राति काठमाडौं फर्केका छन् । ‘प्रधानमन्त्रीज्यूले मन्त्रीबाट ब्रिफिङ लिनेछन्। अडिओमा संलग्न अन्य व्यक्तिहरूका नामसमेत आइरहेका छन्। गुप्तालाई मार्ग प्रशस्त गर्न राजीनामा दिन भनिनेछ, नभए बर्खास्त गरिनेछ,’ बालुवाटार स्रोतले भन्यो ।

काठमाडौं आएलगत्तै प्रधानमन्त्री ओलीले यसबारे जानकारी लिने क्रम जारी छ । घटना सार्वजनिक भएपछि अडियाको सत्यता पुष्टि गर्न फरेन्सिक परीक्षणका लागि सम्बन्धित ल्याबमा पठाइएको छ। गुप्तालाई पदमुक्त गरेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहितका नियामक निकायहरूलाई निष्पक्ष छानबिनका लागि पत्राचार गरिने तयारी भएको छ।

केही दिनअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवाका विषयमा भएको भनिएको डिलको अडियो सार्वजनिक भएको थियो। अडियामा मन्त्री गुप्तासँग बिचौलिया मिलेर लाखौँको घुसको कुराकानी भएको सुनिन्छ। तर मन्त्री गुप्ताले आफ्नो राजनीति सिध्याउन एआई जेनेरेटेड भिडियो भन्दै खण्डन गरेका छन् ।