काठमाडौं – भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै माओवादीले जेठ १३ गतेदेखि दुई सातासम्म सदन अवरोध र नाराबाजी गरेको थियो । माओवादीले उठाएको एजेन्डालाई पछि रास्वपा र राप्रपाले एडप्ट गरे । त्यसपछि माओवादी ब्याक भयो र सरकारसँग दुई बुँदे सहमति भयो ।
माओवादीले बजेटमाथिको छलफलका लागि सदनको गतिरोध हटायो । तर रास्वपा र राप्रपाले विरोध जारी राखे । माओवादीको आलोचना भयो । पार्टीकै नेता कार्यकर्ता पनि असन्तुष्ट बने । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले गरेको सहमतिबारे रास्वपा र राप्रपाले पछि थाहा पाउने टिप्पणी गरेका थिए ।
प्रचण्डले त्यसबेला संकेत गरेको विषयलाई माओवादीनेता हितबहादुर तामाङले खुलासा गरेका छन् । माओवादीले भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग कुनै पनि प्रकारको लेनदेन नगरेको बताए । प्रधानमन्त्री केपी ओलीले प्रतिपक्षले सदन अवरोध गरेको आरोप लगाउँदै अधिवेशन नै अन्त्य गर्ने अवस्था आएपछि दुई बुँदे सहमति गर्नुपरेको उनले खुलाए ।
‘केपी ओलीलाई त हामीले चिनेकै छौं । त्यसैको बहानाबाजी गरेर संसद् चल्न नदिने, संसद्को अन्त्य गरेर चुपचापसँग बस्ने, अध्यादेशमार्फत आफ्नो अनुकूलतामा कानुन ल्याउने हामीले देखेपछि त्यो हुन नदिन सहमति गरेका हौं । मान्छेहरुले नबुझेर भनिराखेको छन् । लेनदेन भन्ने कुरालाई हाइलाइट गरेर माओवादीले गरेको कामलाई भ्रमित गर्ने काम भइरहेको छ,’ सोमबार नेपाली रेडियो नेटवर्कमा अन्तर्वार्ता दिँदै उनले भने ।
प्रतिक्रिया