काठमाडौं – गृहमन्त्री रमेश लेखकले स्पेन प्रकरणमा छानबिन गर्न नेपाल प्रहरीका महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा सरकारी प्रतिनिधि मण्डलबाहेक गएको भन्ने विषयमा निष्पक्ष छानबिन गर्न उनले निर्देशन दिएका हुन्।
मन्त्री लेखकले सोमबार बिहान गृह सचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक थापालाई गृह मन्त्रालयमा बोलाएर निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीज्यूको प्रतिनिधिमण्डलबाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश गरेको छु,’ मन्त्री लेखकले भने, ‘जानका लागि भिजिट भिसाको प्रबन्ध कसले ग¥यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’
स्पेन भ्रमणको विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ’ उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए। विभिन्न एनजिओ आइएनजिओले प्रधानमन्त्री सहभागी हुने कार्यक्रममा प्रतिव्यक्ति १५ लाख लिएर स्पेन उडाएको समाचार सार्वजनिक भएको छ ।
प्रतिक्रिया