काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार साँझ ६ बजे बस्ने गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा घुसकाण्डमा मुछिएका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबारे निर्णय गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
घुस प्रकरणको अडियो र अख्तियारमा उजुरी परेको केही हप्ताअघि नै जानकारी पाएका प्रधानमन्त्री ओलीले यस प्रकरणमा मुख खोलेका थिएनन्। तर, उक्त अडियो मिडियामै सार्वजनिक भएपछि एमालेकै नेता–कार्यकर्ता, संसद् र सामाजिक सञ्जालको दवाब थेग्न नसकेपछि मन्त्री गुप्ताबारे निर्णय लिन लागेका हुन्। ओलीले सोमबार बिहान बालुवाटार बोलाएर गुप्तालाई राजीनामा दिन भनेका थिए । गुप्ताले भने सो अडियो आफ्नो भएको प्रमाणित भए राजनीति नै छाड्ने जवाफ दिएका थिए ।
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले मन्त्री गुप्तासँग स्पष्टीकरण सोध्ने र स्पष्टीकरण चित्त नबुझेमा बर्खास्त गर्ने तयारी गरेको बुझिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार त्यसअघि मन्त्री गुप्ता आफैंलाई राजीनामा गर्ने मौका दिइएको छ। गुप्ताले राजीनामा नदिएमा मन्त्रिपरिषदले निर्णय गर्नेछ।
प्रतिक्रिया