काठमाडौं – संसदीय शासन पद्धतिमा संसदमा प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्दा प्रधानमन्त्री उपस्थित हुने प्रचलन छ । नेपालमा पनि यो परम्परा केही अगाडिसम्म चलेको थियो । तर प्रधानमन्त्री केपी ओलीले एक वर्षयता विपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा सम्बोधन गर्नेबेला उपस्थित हुनै छाडेका छन् ।
सोमबार पनि त्यस्तै दृश्य दोहोरियो । जबकि प्रचण्डको निजी सचिवालयले आइतबार नै प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेताले सम्बोधन गर्ने कार्यसूची रहेको सार्वजनिक गरिसकेको थियो ।
सोमबार रास्वपा र राप्रपाले बहिष्कार गरेको प्रतिनिधिसभा बैठकमा थोरै सांसदहरूका अगाडि प्रचण्डले प्रधानमन्त्री ओलीप्रति प्रश्नैप्रश्न गरे । उनले सरकारले प्रस्तुत गरेको बजेटप्रति गहिरो असन्तुष्टि प्रकट गर्दै, यसलाई जनताको अपेक्षा र लोकतान्त्रिक प्रक्रियाको घोर अपमान भन्दै तीव्र आलोचना गरे ।
आफ्नो नेतृत्वको सरकारको पालामा बजेट तर्जुमा प्रक्रियालाई ‘कर्मकाण्ड’ बाट मुक्त गर्न नयाँ क्यालेन्डरसहित लोकतान्त्रिक विधि लागू गरिएको भए पनि अहिले त्यसलाई भत्काइएको उनले बताए ।
प्रचण्डले आफू नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको, तर आफूहरू त्यहीबेलामा सरकारबाट हट्नुपरेको बताए। ‘मेरो नेतृत्वको सरकारले कीर्तिपुरको रंगशालामा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता गरिसकेको थियो । तर, त्यसैबीच हामी सरकारबाट बाहिरियौँ। त्यसपछि प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाईको सरकार बनेको दाबी गर्दै उहाँले पहिलो निर्णयमै ३०० दिनभित्र फ्लडलाइट र प्यारापिटसहितको अन्तर्राष्ट्रिय रंगशाला निर्माण सम्पन्न गर्ने घोषणा गर्नुभयो,’ उनले सोधे ‘अहिले एक वर्ष पुग्दा बन्यो त प्यारापिटसहितको रंगशाला, जोडियो त फ्डलाइट ?’
प्रचण्डले सरकारका मन्त्रीहरू सरुवा तथा आयोग पदाधिकारी नियुक्तिमा खुलेआम लाखौंको डिल गरिरहेको आरोप लगाउँदै प्रधानमन्त्रीप्रति व्यंग्यात्मक शैलीमा भने, ‘तपाईंका मन्त्रीहरू खुलमखुला लाखौंको डील गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’
प्रचण्डले सरकारलाई भ्रष्टाचार, भागबन्डा, राजनीतिकरण र विचौलियाको संरचना सिर्जना गरेर राज्यको आधिकारिक संयन्त्रलाई छायामा पार्ने प्रयास गरेको आरोप पनि लगाए। ‘जहाँ सरकार, त्यहीँ भ्रष्टाचार र बेथिति’ भन्दै उनले विदेशसम्म प्रधानमन्त्रीले जाने हरेक स्थानमा विवाद सिर्जना भएको टिप्पणी गरे।
विपक्षी दलका नेता प्रचण्डले कांग्रेसप्रति लक्षित गर्दै भने, ‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका शृंखलाहरूू जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ।’
प्रतिक्रिया