प्रधानमन्त्री ओलीले प्रचण्डलाई तत्काल फर्काए कडा जवाफ


काठमाडौं – प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोधेको प्रश्नको जवाफ तत्काल फर्काएका छन् । प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सोधेको एउटा प्रश्नको जवाफ ओलीले सामाजिक सञ्जालमार्फत तत्काल फर्काएका हुन् ।

प्रचण्डले त्रिवि रंगशालामा फ्लडलाइट र प्यारापिट खोइ भनेर प्रधानमन्त्रीलाई सोधेका थिए । तीन सय दिनसम्म तोकेर बनाउने भने पनि अहिलेसम्म नबनेको उनको दाबी थियो । ओलीले प्रचण्ड प्रधानमन्त्री हुँदा कुनै पनि काम मिति तोकेर नगरेको र त्यसको जवाफ पनि दिनु नपरेको बताएका छन् । साथै, अहिले प्रचण्डकै पालामा बिग्रेको अर्थतन्त्र सुधार गरेको प्रधानमन्त्री ओलीको जवाफ छ ।

‘पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालजीले आज प्रश्न सोध्नु भएछ– कीर्तिपुरको मैदानमा खोई फ्लडलाइट ? खोई प्यारापिट ? मेरो उहाँलाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ ।
तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइमलाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । सरकारको कामबारे तथ्यतथ्यांक राखेर तपाईंले प्रधानमन्त्रीको रुपमा जवाफ पनि दिनु परेन। तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम । मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो, तथ्याङ्क हेर्नुस् भन्ने सुझाव दिन चाहन्छु,’ ओलीले भनेका छन् ।