आज राष्ट्रपति भवन शित्तल निवासमा आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मान २०८२’मा फिल्म ‘शाम्बाला’ले उत्कृष्ट फिल्म र उत्कृष्ट निर्देशकको अवार्ड जितेको छ । यो फिल्मबाट मिनबहादुर भामले उत्कृष्ट निर्देशकको अवार्ड पाए ।
यस्तै, फिल्म ‘पूर्ण बहादुरको सारंगी’बाट नायक विजय बरालले उत्कृष्ट अभिनेताको अवार्ड जित्दै गर्दा फिल्म ‘खुश्मा’बाट उपासना सिंह ठकुरीले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरिन् ।
फिल्म ‘छक्का पन्जा ५’बाट दीपकराज गिरीले ‘उत्कृष्ट लेखन’को अवार्ड जित्दै गर्दा फिल्म ‘पिताम्बर’बाट पुरुषोत्तम प्रधानले ‘उत्कृष्ट छायांकार’को अवार्ड प्राप्त गरेका छन् । फिल्म ‘पूजार सार्की’बाट भरत रेग्मीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड प्राप्त गरे ।
उत्कृष्ट आदिवासी जनजाती फिल्मको सम्मान नेवारी भाषामा बनेको फिल्म ‘गालयु वन’ले जितेको छ । उनीहरुलाई नगद २५ हजारसहित ट्रफी प्रदान गरिएको थियो ।
नायक प्रदीप खड्काले फिल्म ‘पुजार सार्की’बाट ‘जुरी प्रोत्साहन पुरस्कार’ प्राप्त गरेका थिए । कार्यक्रममा निर्देशक लक्ष्मीनाथ शर्मालाई ‘दीर्घ साधना सम्मान’बाट सम्मानित गरियो । उनलाई नगद ३ लाख ७५ हजार सहित सम्मान गरिएको हो ।
यो अवार्डको निर्णायकमा रमेश बुढाथोकी, एनबी महर्जन, करण थापा, सुचित्रा श्रेष्ठ, दीपेन्द्र के खनाल थिए । कार्यक्रममा १० फिल्मीकर्मीलाई ‘बिशेष सम्मान’बाट सम्मानित गरिएको थियो ।
यस्तै, लिम्बु भाषाको फिल्म ‘चिने’ र मगर भाषाको फिल्म ‘दिलसरा’लाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । फिल्म ‘चिनो’को छायांकनका क्रममा ज्यान गुमाएका प्रविधिक श्रवण मास्केलाई ‘मरोणोपरान्त विशेष योगदान’बाट सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, संचार, सूचना तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको विशेष उपस्थिती थियो । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ८ महिनामै आफूले पुरा गरेका कामको तालिका सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया