काठमाडौँ । केही समययता देशकै राजधानी काठमाडौंमा १८ वर्षमुनिका किशोरीको डिम्बको अवैध कारोबार फस्टाउँदै गएको पाइएको छ । प्रहरीले बबरमहलस्थित ‘होप फर्टिलिटी एन्ड डायग्नोस्टिक प्रालि’ बाट किशोरीहरूको डिम्बको अवैध कारोबार गरेको आरोपमा पाँचजना पक्राउ परेपछि यसको रहस्य बाहिर आएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोप्य सूचना र उजुरीका आधारमा अनुसन्धान गर्दा होप फर्टिलिटीले निःसन्तान दम्पतीलाई बच्चा जन्माउन सहयोग गर्ने बहानामा १८ वर्षभन्दा कम उमेरका किशोरीहरूलाई प्रयोग गर्दै आएको भेटिएको हो ।
निःसन्तान दम्पतीलाई आइभीएफलगायतका विभिन्न प्रविधिको सहयोगमा बच्चा जन्माउन सहयोग गर्ने संस्थाबाटै किशोरीको डिम्बको कारोबार भइरहेको फेला परेपछि प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरीहरूलाई विभिन्न प्रलोभनमा पारी क्लिनिकमा बोलाउने र उनीहरूको डिम्ब निकालेर १० हजार रुपैयाँ दिने गरेको पाइएको छ ।
पक्राउ परेका पाँच जनाको नाम प्रहरीले तत्काल सार्वजनिक गरेको छैन । यो घटनाले मानव शरीरका अंगहरूको अवैध कारोबार र यसमा संलग्न स्वास्थ्य संस्थाहरूमाथि गम्भीर प्रश्न खडा गरेको छ । प्रहरीका अनुसार होपले १८ वर्षभन्दा कम उमेरका किशोरीलाई विभिन्न प्रलोभनमा पारेर क्लिनिकमा बोलाउने र डिम्ब निकाले राख्ने गरेको थियो।
प्रतिक्रिया