काठमाडौं । नेपाली राजनीतिमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई चतुर खेलाडीका रूपमा लिने गरिन्छ । आफ्नो र पार्टीको स्वार्थका लागि उनी जस्तोसुकै निर्णय गर्न पनि माहिर मानिन्छन् । पछिल्लो समय सिके राउत नेतृत्वको जनमत पार्टीको उदयले तनावमा परेका उपेन्द्रले फेरि ढुलमुले चरित्र देखाएका छन् । केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका उपेन्द्र अहिले फेरि सरकारमा सामेल हुने मनस्थितिमा पुगेका छन् ।
सरकार गठनको एक वर्ष पुगेसँगै प्रधानमन्त्री केपी ओली मन्त्रिमण्डलका सदस्य हेरफेरको तयारीमा लागेका बेला उपेन्द्र नेतृत्वको जसपा सोमबार सत्ता पक्षको बैठकमा सहभागी बन्यो । प्रधानमन्त्री ओलीले सरकारमै रहेको जनमतका अध्यक्ष राउतलाई नबोलाई उपेन्द्रलाई बोलाउनुले मधेशको राजनीतिक समीकरण बदलिने चर्चा सुरु भएको छ ।
मन्त्रीमण्डल हेरफेरसँगै सरकारलाई दिएको समर्थन फिर्ता लिएका उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउने तयारीमा प्रधानमन्त्री ओली लागेका छन् । प्रधानमन्त्री निकट स्रोतका अनुसार उपेन्द्र यादवलाई स्वास्थ मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
यादवले आफै उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्री बन्ने चाहना राखेका छन् । उपप्रधानमन्त्री नपाएको अवस्थामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादवलाई पठाउने विकल्प पनि उपेन्द्रले अघि सारेका छन् । पर्यटन मन्त्रालयमा राज्यमन्त्री रहेका नागरिक उन्मुक्ति पार्टीलाई फुलमन्त्री दिने तयारी छ ।
यसअघि रञ्जिता श्रेष्ठ आफै मन्त्री बन्ने तयारीमा रहेकोमा जग्गाकाण्डको अडियोमा उनी मुछिएपछि अहिलेका राज्यमन्त्री अरुण चौधरी नै फुलमन्त्री बन्ने सम्भावना छ । यसो गर्दा कांग्रेस र एमालेको एक एक मन्त्री घट्ने र नयाँ दुई दलले दुई मन्त्रालय पाउने छन् । जसपा र नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणापछि प्रधानमन्त्री ओली विश्वासको मत लिनुपर्ने दवावमा छन् । विश्वासको मत लिँदा हुनसक्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलबाट सत्ता जोखिममा पर्ने आँकलनसहित ओली अहिले उपेन्द्र यादव र रेशम चौधरीलाई फकाउन लागेका हुन् ।
प्रतिक्रिया